म्युजिकल फिल्म ‘बादलहरु’ सार्वजनिक (भिडियो)

संगीत । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ‘लोडसेडिङ’ हट्नुको श्रेय जान्छ । पहिलोपटक कार्यकारी निर्देशक पदमा नियुक्त भएपछि कुलमानले लोडसेडिङको अन्त्य गरेका थिए । यिनै उज्यालो नेपालका अभियन्ता समेत रहेका घिसिङको जीवनी प्रेरित म्युजिक भिडियो सार्वजनिक गरिएको छ । स्वयंको घिसिङकै उपस्थितिमा ‘बादलहरु’ बोलको गीत सार्वजनिक गरिएको हो । अभिनेत्री सुरक्षा पन्तको शब्द , मानव सुवेदीको संगीत रहेको गीतमा राज गोश्वामीको स्वर रहेको छ ।

भिडियोमा गाउँमा बिजुली ल्याउन संघर्ष गर्ने एक इन्जिनियरसँग जोडिएका थप दुई पात्रको कथा प्रस्तुत गर्छ । कथामा गाउँमा बिजुली ल्याउन प्रयत्नरत इन्जिनियरको असामयिक निधनपछि गाउँकै घरेलु इन्जिनियरले उसको त्यो अपुरो काम पूरा गरेको देखाइएको छ । सुरक्षाकै पटकथा रहेको भिडियोलाई मानव सुवेदीले निर्देशन गरेका हुन् ।

कुलमान घिसिङले भिडियो हेरेपछि आफ्नै पेशालाई केन्द्रमा राखेर बनाएको भिडियो हेर्दा खुसी लागेको प्रतिक्रिया दिए । ‘भिडियोमा देखिए झैँ बिजुलीको महत्व बुझाउन मैले धेरै संघर्ष गरेको छु । अब छिटै ९५ प्रतिशत नेपालीको घरआँगनमा बिजुली पुग्दैछ’ घिसिङले भने । कार्यक्रममा घिसिङसँगै अभिनेता राजेश हमाल , गायकहरु राजेश पायल राई, सुगम पोखरेल, धर्मेन्द्र सेवान लगायतको उपस्थिति रहेको थियो ।

समाज र कला बीच रहेको सम्बन्धलाई भिडियो प्रस्ट्याउनेमा अभिनेता हमालले जोड दिए । ‘कलाले यो समाजबाटै प्रेरणा लिन्छ र समाज प्रेरित यही कथाबाट हामी थप प्रभावित हुन्छौँ ।कुलमानजीको वास्तविक भिडियोले यो गीत र भिडियो सिर्जना भयो । हामी यो भिडियो हेरेर प्रभावित भयौँ ’ अभिनेता हमालले भने ।

गीतकार, लेखक र अभिनय गरी तीन विधामा जोडिएकी सुरक्षा पन्तले गीतको भिडियोले तीन वटा विम्बलाई प्रस्तुत गर्ने जमर्को गरेको बताइन । गायक राजले भने आफूलाई गायकको रुपमा भन्दा पनि संगीतप्रेमीको रुपमा चिनाउन मन पराउने बताउँदै आफ्नो स्वर सुहाउँदो गीत भएकाले गाउने चेष्टा गरेको बताए । निर्देशक मानव सुवेदीले देखिरहेको क्यानभासमा आफूलाई फरक कथा भन्ने रुचि लाग्ने र ‘बादलहरु’को भिडियोमा पनि आफूहरुले देखे सुनेकै कथा प्रस्तुत गरेको बताए ।

कमेन्ट गर्नुहोस्