चौथो पटक इटाली क्‍वार्टरफाइनलमा

खेलकुद । इटाली युरो कप २०२० को क्वार्टरफाइनलमा प्रवेश गरेको छ। आइतबार विहान सकिएको खेलमा इटालीले अस्ट्रियामाथि २-१ को जित निकाल्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । सन् १९६८ को च्याम्पियन इटाली र वेल्सको लन्डनस्थित वेम्ब्ली स्टेडियममा भएको खेल निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा टुङ्गिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो ।

त्यसपछि थपिएको ३० मिनेटको अतिरिक्त समयमा इटालीले दुई गोल गर्‍यो। खेलको ९५ मिनेटमा सब्स्सिच्युट खेलाडी फेडेरिको चिएसाले गोल गर्दै इटालीलाई अग्रता दिलाए । उनले इपिन्जोलाको पासमा गोल गरेका थिए। इटालीले खेलको १०५ मिनेटमा दोस्रो गोल गर्‍यो । माटेओ पेसिनाले इटालीका लागि दोस्रो गोल गरेका हुन्। उनलाई गोल गर्न आर्सबीले पास दिए।

अस्ट्रियाका लागि कालजडिकले ११४ मिनेटमा गोल फर्काउँदै टिमलाई खेलमा फर्काउने कोशिस गरेका थिए । यो इटालीेले जारी युरो २०२० मा खाएको पहिलो गोल हो। जितसँगै २००४ यताका सबै युरोपियन च्याम्पियनसिपमा इटालीले कम्तिमा क्‍वार्टरफाइनलको यात्रा तय गरेको छ । अस्ट्रियालाई पराजित गरेसँगै इटालीले आफ्नो अपराजित खेल संख्या ३१ खेलसम्म लम्ब्याउँदै नयाँ राष्ट्रिय रेकर्ड बनायो । यो इटाली सर्वाधिक खेलमा अपराजित रहेको खेल संख्या हो। अब अन्तिम आठमा इटालीले बेल्जियम वा पोर्चुगल मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ।

अपराजित खेल संख्या ३१

यसअघि इटालीले सन् १९३९ मा पनि अपराजित खेल संख्या ३० खेलसम्म लम्ब्याएको थियो। इटालीले सन् १९३५ अक्टोबरदेखि १९३९ को जुलाईसम्ममा खेलेका ३० खेलमा हारेको थिएन। त्यतिबेला इटालीले लगातार दोस्रो पटक विश्वकपको उपाधि जितेको थियो। यस्तै उसले सन् १९३६ को ओलम्पिक फुटबलमा पनि स्वर्ण पदक हात पारेको थियो।

अहिले इटालीले सेप्टेम्बर २०१८ मा पोर्चुगलसँग पराजय भोगेपछि खेलेका ३१ अन्तर्राष्ट्रिय खेलमा हारेको छैन । १० अक्टोबर २०१८ मा पोर्चुगलसँग १-० गोलले पराजित भएपछि इटालीले २६ खेलमा जित हात पारेको छ भने ५ खेलमा बराबरीमा रोकिएको छ। यस्तै इटालीले सन् २०२१ मा खेलेका सबै खेलमा जित हात पारेको छ। (एजेन्सी)

कमेन्ट गर्नुहोस्