खेलकुद । सोमबार बेलुकी युरो कप २०२० अन्तर्गत भएको समुह ‘सी’ अन्तर्गतको खेलमा नेदरल्यान्ड्स र अस्ट्रिया अन्तिम १६ मा प्रवेश गरेका छन् । समूह ‘सी’ को विजेता बन्दै नेदरल्यान्ड्स समूह चरणमा शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा पुगेको हो । नेदरल्यान्ड्सले सोमबार सम्पन्न समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोलले पराजित गर्यो । नेदरल्यान्ड्सको जितमा डिपाएले खेलको २४ मिनेटमा पहिलो गोल गरे । दोस्रो हाफमा जर्जिनियो विज्नल्डमले दुई गोल गर्दा नेदरल्यान्ड्सले सहज जित निकाल्न सफल भयो । उनले खेलको ५१ र ५८ मिनेटमा गरी दुई गोल गरे। जितसँगै नेदरल्यान्ड्सले समूहमा ९ अंक जोड्यो। दोस्रो बनेको अस्ट्रियाले ६ अंक जोड्यो।
यस्तै , समुह ‘सी’ अन्तर्गतकै दोस्रो खेलमा युक्रेनलाई १-० गोलले पराजित गर्दै अस्ट्रिया अन्तिम १६ मा पुगेको हो। जितसँगै समूहमा दोस्रो भएको अस्ट्रियाले समूह ‘सी’ मा ६ अंक जोडेको छ । ३ अंक जोडेको युक्रेन भने तेस्रो बन्यो । युक्रेनले अब उत्कृष्ट तेस्रो टिम बनेर अन्तिम १६ मा पुग्नका लागि कुर्नु पर्नेछ। अस्ट्रियालाई महत्वपूर्ण खेलमा जित दिलाउने क्रममा बाउमगान्टरले खेलको २१ मिनेटमा गोल गरेका थिए। (एजेन्सी)











