फिल्म । राष्ट्रिय युवा संघ नेपालले ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता गर्ने जनाएको छ । शुक्रबार संघले प्रेस विज्ञप्ति जारी गर्दै युवाहरुको नवीन सोच र श्रृजनशीलतालाई राष्ट्र निर्माणका अभियानमा जोड्ने सन्दर्भ सामाग्री निर्माणको सोचसहित यो प्रतियोगिता आयोजना गर्न लागेको जउल्लेख गरेको छ । ‘एनवाईएफ सर्ट मुभी कम्पिटिसन २०७८’ नाम दिइएको यो प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले उद्यमशीलता र रोजगार, पर्यटन, कृषि तथा उद्योग, राजनीति र सुशासन, शिक्षा, स्वास्थ्य, खेलकुद, लैंगिक समानता र विविधता, कला संस्कृति र मनोरञ्जन आदि विषयमा केन्द्रित रही बढीमा ५ मिनेटसम्मको फिल्म बनाउनुपर्नेछ ।
‘प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले ‘म केही गर्छु’ विषयको केन्द्रमा रही स्क्रिप्ट बुझाउनु पर्नेछ । यसरी सहभागिताका लागि आएका स्क्रिप्टलाई विज्ञ समूहले अध्ययन गरी आवश्यक परामर्श तथा सुझाव दिनेछ । यो प्रक्रियाबाट बनेका फिल्महरु मध्ये उत्कृष्ट तीन फिल्मलाई हामीले पुरस्कारको व्यवस्था गरेका छौँ,’ संघका अध्यक्ष किरण पौडेल हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ ।
यस प्रतियोगितामा सहभागी हुन चाहाने फिल्मकर्मीले असार २५ सम्म स्क्रिप्ट पठाइ सक्नुपर्ने छ । यसरी आएका स्क्रिप्टबाट बनेकामध्ये पहिलो हुने फिल्मले २ लाख ५० हजार, दोस्रो हुने फिल्मले १ लाख ५० हजार र तेस्रो हुने फिल्मले १ लाख रुपैंया प्राप्त गर्ने छन् । राष्ट्रिय युवा संघ मुख्य आयोजक रहेको यो प्रतियोगिताको नेपाल फिल्म एकेडेमी सह-आयोजनक रहेको छ भने नेसनल युथ काउन्सिलले प्रवर्धन गर्ने छ । त्यसैगरी प्रतियोगितालाई चलचित्र विकास बोर्ड, नेपाल पर्यटन बोर्ड, अफरिङ ह्याप्पीनेस र प्रमोटर्स नेपालको सहयोग रहनेछ । सहभागी हुन् इच्छुकले असार २५ सम्ममा स्क्रिप्ट इमेल ठेगाना [email protected] मा पठाइ सक्नुपर्नेछ ।










