फिल्म । चैत २७ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कृष्ण लीला’ को ट्रेलर सार्वजनिक भएको छ । गत शुक्रवार सार्वजनिक भएको तीन मिनेट २५ सेकेण्डको ट्रेलर प्रेम, रोमान्स, विछोड र रोदनले भरिएको छ । अभिनेता पुष्प खड्का (कृष्ण) र अभिनेत्री श्रद्धा क्षेत्री (लीला) को प्रेममा आउने उतार-चढावमा फिल्म केन्द्रित रहेको ट्रेलरले प्रस्ट्याउँछ ।
दीपक ओलीको निर्देशनमा बनेको फिल्ममा पुष्प र श्रद्धासँगै बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुष गुरागाई लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ । फिल्ममा शिव ढकालको छायांकन, अर्जुन जिसीको सम्पादन, अर्जुन पोखरेलको संगीत, लक्ष्मण सुवेदीको कथा, रामजी लामीछानेको कोरियोग्राफी र श्री श्रेष्ठको द्वन्द्व निर्देशन छ ।
रोहित कट्टेल प्रस्तुतकर्ता रहेको फिल्ममा रत्न श्रेष्ठ कार्यकारी निर्माता, प्रकाश राज कार्की र केवल तामाङ निर्माता, पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह-निर्मातामा छन् ।