सुपर ओभरमा दिल्लीले पञ्जाबलाई हरायो

विदेश । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सले किंग्स एलेभेन पञ्जाबलाई हराएको छ । युएईको दुबई अन्तर्राष्ट्रिय मैदानमा निर्धारित २० ओभरमा दुवै टोलीले समान १५७ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । जहाँ पञ्जावले पहिले ब्याटिङ गर्दै २ विकेट गुमाएर जम्मा २ रन मात्र बनाउन सक्यो ।

पञ्जावका कप्तान केएल राहुल र निकोलस पुरनले सुपर ओभरमा सुरुमा ब्याटिङ गरेका थिए । तर दिल्लीका फास्ट बलर कागिसो रबाडाले दुवै खेलाडीलाई आउट गराए । पहिलो बलमा रबाडाले २ रन दिए पनि त्यसपछि लगातार २ बलमा २ विकेट लिए । दिल्लीले सुपर ओभरमा ३ रनको लक्ष्य २ बल खेल्दै पूरा गर्‍यो । कप्तान श्रेयस अयेर र विकेटकिपर ऋषभ पन्तले दिल्लीका लागि सुपर ओभरमा ब्याटिङ गरेका थिए ।

१५८ रनको लक्ष्य पछ्याउने क्रममा पञ्जाबले खराब सुरुवात गरेपनि ओपनर मायांक अग्रवालले एक छेउबाट उत्कृष्ट ब्याटिङ गर्दै टोलीलाई जित नजिक पुर्‍याएका थिए । तर अन्तिम ओभरमा दिल्लीका स्टोयनिसले उनै अग्रवाल र क्रिस जोर्डनको विकेट लिएपछि पञ्जाब जित नजिक पुगेर पनि चुकेको थियो । स्टोयनिस खेलको म्यान अफ दि म्याच घोषित भए । (एजेन्सी)

कमेन्ट गर्नुहोस्