विदेश । अब आफ्ना इन्स्टाग्राम स्टोरिज फेसबुक एपबाटै हेर्न पाइने भएको छ । फेसबुकले हालै यो फिचर केही फेसबुक प्रयोगकर्ताहरुका लागि परीक्षणका रुपमा उपलब्ध गराएको हो । फेसबुकले लामो समयदेखि फेसबुकका पोष्टहरु इन्स्टाग्राममा र इन्स्टाग्रामका पोष्टहरु फेसबुकमा शेयर गर्न सकिने सुविधा उपलब्ध गराउँदै आएकोमा फेसबुक एपबाटै इन्स्टाग्राम स्टोरिज हेर्न मिल्ने गरि तयारी गरिरहेको छ ।
फेसबुकमा देखिने स्टोरिज इन्स्टाग्रामको हो कि फेसबुकको हो भन्ने कुरा प्रोफाइल फोटोलाई घेरिएको रङबाट छुट्टिने समेत फेसबुकले जनाएको छ । फेसबुक स्टोरिजमा निलो घेरा हुन्छ भने इन्स्टाग्राम स्टोरिजमा एप आइकनकै जस्तो गुलावी सुन्तला रङ हुनेछ । सीमित प्रयोगकर्ताका बीचमा यो परीक्षण जारी रहेको भन्दै फेसबुकले प्रयोगकर्ताहरुको पृष्ठपोषण ग्रहण गरिरहेको जनाएको छ । साथै फेसबुकले यो नयाँ फिचरले विद्यमान सबै खालका प्राइभेसी सेटिंग्सलाई कायम राखेको पनि जनाएको छ ।
केही वर्षयता फेसबुक सीईओ मार्क जुकरबर्गले सोसल नेटवर्किङ साइट फेसबुक र कम्पनीका अन्य लोकप्रिय सोसल मिडिया प्लाटर्फमहरु इन्स्टाग्राम र ह्वाट्सएपलाई एकीकृत गर्ने बताउँदै आएका छन् । (एजेन्सी)







