देश । लक्षण नदेखिएका संक्रमितलाई अस्पतालमा भर्ना नलिने, अस्पताल भर्ना हुन स्वास्थ्य मन्त्रालयको स्वीकृति लिनुपर्ने, लक्षण नदेखिएका संक्रमितलाई घरमै राख्ने गरिएको भन्दै समितिले त्यसो नगरी सबै कोरोना संक्रमितको उपचारको जिम्मा लिन सरकारलाई संसदको राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिएको छ ।
कोभिड १९ संक्रमितहरु होम आइसोलसनमा राख्दा निगरानी र नियन्त्रण नभएर संक्रमण फैलिने डर भएको निष्कर्ष सहित समितिले निर्देशन दिएको उल्लेख गरेको छ । यसैगरी, समितिले समुदायस्तरमै कन्ट्याक्ट ट्रेसिङको काम अगाडि बढाउन पनि निर्देशन दिदै कोरोना परिक्षणको रिपोर्ट छिटै उपलब्ध गराउन समेत भनेको छ ।
राज्य व्यवस्था समितिले कोरोना संक्रमण देखिएका कारागारमा रहेका सबै कैदीबन्दी र सुरक्षाकर्मीहरुको कोरोना संक्रमण परीक्षण गर्न पनि निर्देशन दिएको छ ।कोरोना भाइरस नियन्त्रणमा भएका कामको अनुगमन गर्न प्रत्येक स्थानीय तहमा सर्वदलीय संयन्त्र गठन गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ । यसअघि राज्य व्ययवस्था समितिले संघमा नै यस्तो संयन्त्र गठन गर्न भनेको थियो । उक्त निर्देशन कार्यान्वयनमा आउन सकेको थिएन ।








