संगीत । भारतले नेपाली भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानी कब्जा गरेको विरोध भइरहेको बेला देशभक्तिले ओतप्रोत राष्ट्रिय गीत ‘नझुकून् हाम्रा शीरहरू’ सार्वजनिक भएको छ । पूर्खाले आर्जेको भूमिको रक्षा गर्ने दायित्व हरेक नेपालीको काँधमा आएको सन्देश दिने भिडियोमा जन भावना अनुरुप तयार गरिएको रचनाकार उत्तम केसीले जनाए ।
गायक विजय अधिकारी र मनिष राईको स्वर रहेको गीतमा संगीत विजय अधिकारीको रहेको छ । गीतमा नेपाल कलाकर्मी संघका अध्यक्ष रबिन्द्र खड्का, मोहन निरौला, लय संग्रौला, जितु नेपाल, गोपाल ढकाल, सुभेक्षा थापा, उत्तम केसी,आशा भुषाल लगायत कलाकार संघका कलाकर्मीको अभिनय रहेको छ ।
राष्ट्रिय गीतको निर्देशन निर्देशक जीवन शाहीले गरेका छन् भने निर्माण साईराम पिक्चर्स प्रालिका प्रबन्ध निर्देशक शम्सेर श्रेष्ठले गरेका हुन् ।गीतका लेखक उत्तम केसी भन्छन्, ‘देशमा उठिरहेको विषय भूमि जोगाउन हामी आई लाग्नेमाथि जाई लाग्ने तर कहिले पनि पछि पर्ने छैनौं र भारतको थिचोमिचो सहने छैनौं भन्ने मूल सन्देश दिन गीत लेखेको हुँ ।’










