फिल्म । पछिल्लो समय विश्वमै महामारीको रुप लिएको कोरोना भाइरस (कोभिड १९) का कारण आयोजित कार्यक्रमहरु स्थगित भइरहेका छन् । सामाजिक दुरी बनाउनु पर्ने भएकोले सकेसम्म मानिसलाई घरमै बस्न आग्राह गरिएको छ । यसैले गर्दा पनि विश्वनै अहिले ‘रेस्ट’ मा छ भन्दा फरक नपर्ला । यसैक्रममा लण्डनमा हुने भनिएको थर्ड आई टिमको अवार्ड कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।
थर्ड आई टिमले मे २४, २०२० (जेठ ११) मा मनोरञ्जन, खेल, पत्रकारिता, साहित्य र लाइफटाइम अचिभमेन्ट लगायतका विधामा अवार्ड दिने तयारी थालेको थियो । यो अवार्ड अव स्थिति समान्य नभएसम्मलाई सरेको छ । यो अवार्डले नेपाल सरकारको पर्यटन प्रवर्धन अभियान ‘भिजिट नेपाल २०२०’ लाई पनि सघाउने आयोजक टिमको विश्वास थियो । तर, कोभिड-१९ का कारण सरकारले भिजिट नेपाल कार्यक्रम समेत स्थगित गरिसकेको छ । लण्डनमा पनि स्थिति सहज नभएको कारण अवार्ड स्थगित गर्नु परेको आयोजक संस्थाले जनाएको छ ।
यस अघि १०औँ ‘बक्सअफिस अवार्ड २०१७’ सम्पन्न गरेको थर्ड आई टिमले लण्डनमा फिल्म प्रदर्शनदेखि सांस्कृतिक कार्यक्रमहरु आयोजना गर्दै आएको छ । अवस्था सामान्य बनेपछि अवार्ड आयोजना गरिने थर्ड आईका विकास देवकोटाले जानकारी दिएका छन् ।








