हलमा पुन: ‘लभ डायरीज’

फिल्म । पछिल्लो समय कोरोना भाइरसको संक्रमण विश्वमा बढ्दो छ । यसलाई लिएर नेपालमा पनि उत्तिकै सतर्कता बढाईने क्रम बढ्दो छ । नेपाल सरकारले अनावश्यक रुपमा भिडभाड नगर्न आग्रह गरेको छ । यसको प्रभाव मनोरंजनको क्षेत्रमा पनि परेको छ । पछिल्लो समय फिल्म रिलिज कम हुन् थालेका छन् । नयाँ फिल्म रिलिज नभएसंगै खुल्लै रहेको हलमा पुरानै फिल्म पुनः प्रदर्शन हुन् थालेका छन् । यसै क्रममा गत फागुन २ मा रिलिज भएको फिल्म ‘लभ डायरीज’ पुनः प्रदर्शनमा आएको छ ।

कमलपोखरीमा रहेको जय नेपाल हलबाट फिल्मको रि-रिलिज सुरु भएको हो । सोमबारबाट जय नेपाल हलमा यसको प्रदर्शन सुरु भएको छ । फिल्मका वितरक करण श्रेष्ठ रिलिजको समय चेपुवामा परेका कारण अहिले पुन: रिलिज गरिएको बताउँछन् । उनले भने, ‘फिल्म चलेको अर्को साता नै आमा र सेन्टीभइरस रिलिज भयो । यस फिल्मले राम्रोसँग रिलिज समय पाएको थिएन । त्यसैले अहिले रिलिज गरेका हौँ ।’

सौरभ चौधरी निर्देशित प्रेमकथानक यस फिल्ममा सुशील श्रेष्ठसँग डेब्यु गर्ल रुबिना थापाले जोडी बाँधेकी छन् । फिल्ममा विश्वजित रिमालको पनि मुख्य भूमिका छ । फिल्मका दुइ मुख्य पात्र सुशील र रुबिना बीचको प्रेम, रोमान्स र विछोडलाई फिल्ममा देखाइएको छ । विनोद सापकोटाले निर्माण गरेको फिल्ममा कथा र पटकथा मधु बास्तोलाले लेखेका हुन् । शाहील खान एसोसिएट निर्देशक रहेको फिल्ममा संजय लामाको छायांकन, मिलन श्रेष्ठ र दिर्घ खड्काको सम्पादन, अर्जुन पोखरेलले संगीत रहेको छ ।

कमेन्ट गर्नुहोस्