फिल्म । गत फागुन ९ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘आमा’ ले प्रदर्शनको चौथो हप्ता पार गरेको छ । चौथो हप्तामा फिल्म प्रवेश गर्दै गर्दा यसले नेपालबाटै लगानी उठाउदै मुनाफा कमाएको निर्माण पक्षले प्रेस विज्ञप्ति जारी गर्दै जनाएको छ । जारी विज्ञप्तिमा पछिल्लो समयको परिस्थितिमा पनि आमाले दर्शक मार्फत पाएको माया प्रति कृतज्ञ रहेको उल्लेख छ ।
निर्देशक दिपेन्द्र के खनाल र निर्मात्री शर्मिला पाण्डेले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘फिल्मलाई देश तथा विदेशबाट प्राप्त भएको स्नेह र मायाको लागि सम्पूर्ण दर्शक, प्रदर्शक, वितरक, पत्रकार तथा समिक्षकहरुलाई धन्यवाद व्यक्त गर्न चाहन्छौ ।’ निर्देशक खनालको कथा, पटकथा तथा निर्देशनमा तयार फिल्म नेपालमा बनेको पहिलो फिल्म ‘आमा’को नाम सापटी लिदै निर्माण गरिएको यसफिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।
फिल्ममा आमाको भूमिकामा मिथिला शर्मा छिन । डीएस डिजिटलको ब्यानरमा निर्माण भएको यस फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिचेका हुन् । यसलाई उपत्यकामा रीच इन्टरटेनमेन्टका करण क्रेजी र मोफसलमा एफडी कम्पनिले वितरण गरेको हो ।











