फिल्म । आउँदो चैत्र २८ लाई रिलिज डेट लक्षित गरिएको फिल्म ‘माइकल अधिकारी’ को छायाँकन पुर्ववाट सुरु भएको छ । माघे संक्रान्तिको अवसर पार्दै बुधबार झापाको बिर्तामोडमा मुहुर्त गर्दै फिल्मको छायाँकन प्रारम्भ गरिएको हो । भाडाको कोख अर्थात सरोगेशीको कथामा निर्माण हुने फिल्ममा सौगात मल्ल र सृष्टि श्रेष्ठको मुख्य भुमिका रहने छ ।
सौगात र सृष्टीसँगै यसमा अशान्त शर्मा, एनी कुँवर, हेमन्त बुढाथोकी, बिद्या कार्की, सुजना ढकाल, दिलिप बोहरा, बिट्रिनी कलाकार जमाइका टोम्स सहित झापाको चर्चित नाट्य समुह परिवर्तन थियटरका कलाकारको अभिनय रहने छ । गोपीकृष्ण मुभिजको व्यानरमा निर्माण हुने फिल्मलाई रञ्जित रौनियारले निर्देशन गरिरहेका छन् ।
रञ्जित कै कथा रहेको फिल्ममा राजु बिक्रम थापाको छायाँकन, शैलेश कंडेल क्षेत्रीको पटकथा र संवाद, शम्भूजित बासकोटा र निलेश सिंहको संगीत र कविराज गहतराज र रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । उद्धव पौडेल प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता निरक पौडेल हुन् । कमेडी जनरामा निर्माण भइरहेको फिल्मको सम्पूर्ण छायाँकन बिर्तामोड र इलाममा गरिने निर्माण पक्षले जनाएको छ । ३५ दिने सेड्युल लिएर विर्तामोड पुगेको टिमले पुर्वका सौन्दर्यलाई कथाअनुसार फिल्ममा कैद गर्नेछन् । फिल्मलाई रीच इन्टरटेनमेन्ट र जीजीएले वितरण गर्नेछ ।










