फिल्म । पछिल्लो समय लोक दोहोरि गीतमा अग्रपंक्तिमा आउने नाम मध्यका एक हुन् , प्रकाश सपुत । उनले गाएको गलबन्दी गीत निकै लोकप्रिय भयो । यससँगै आएका गीतहरुले पनि उनको लोकप्रियतालाई बढाउँन सघायो । यिनै प्रकाश अब हिरो बन्ने भएका छन् । विक्रम संवत २०७२ सालमा प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित फिल्म ‘परदेशी’ को सिक्वेलबाट चर्चित लोक गायक प्रकाशले हिरोको रुपमा डेब्यू गर्ने भएका छन् ।
बाल्यकालदेखि नै हिरो बन्ने उनको सपना फिल्म ‘परदेशी २’ बाट पूरा हुने भएको छ । केही दिन अगाडि निर्देशक रायमाझीले उनिसँग कागजी सम्झौता समेत गरिसकेका छन् । रोजगारीको शिलशिलामा परदेश गएका युवाहरुको कथामा निर्माण हुने फिल्मको छायांकन फागुनबाट सुरु हुने तयारी छ । फिल्ममा गायक सपुतलाई अभिनेताको रुपमा रहेता पनि उनको को-स्टारको बारेमा अझै केहि टुङ्गो लागिसकेको छैन । निर्देशक रायमाझी अब अभिनेत्रीको खोजीमा लागेका छन् ।
‘परदेशी’ मा गायक तथा अभिनेता प्रशान्त तामाङ प्रमुख भूमिकामा थिए । ‘परदेशी’ भन्दा अगाडि प्रशान्तलाई लिएर निर्देशक रायमाझीले ‘गोर्खा पल्टन’ बनाएका थिए । बक्सअफिसमा राम्रो व्यापार गरेको ‘परदेशी’ को कथावस्तुलाई दर्शकले रुचाएका थिए । यसैले गर्दा पनि यसको सिक्वेल ल्याउने कसरतमा निर्देशक रायमाझी केहि समय यता थिए ।










