फिल्म । नेपालमा खलपात्रको भूमिकामा रुचाएका कलाकारमा पर्छन् सुनिल थापा । ‘राते काइला’ उपनाम समेत दर्शक माँझ स्थापित गर्न सफल सुनिल नेपालीसँगै बलिउड फिल्ममा पनि काम गरेका छन् । सन् १९६४ मा चेतन आनन्दको चर्चित फिल्म ‘साहिब बहादुर’ बाट उनले बलिउडमा डेब्यू गरेका थिए । पछिल्लो पटक उनी फिल्म ‘मेरी कोम’ मा अभिनेत्री प्रियंका चोपडाको गुरु बनेका थिए ।
त्यस यता बलिउडको पर्दामा नदेखिएका सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसले निर्माण गर्न लागेको फिल्म ‘क्वाथा’ मा अभिनय गर्ने भएका छन् । बलिउड अभिनेत्री कैटरीना कैफकी बहिनी इसाबेल कैफले डेब्यू गर्ने यो फिल्ममा सुनिलले भारतको मणिपुर राज्यको एक मुखियाको भूमिका निभाउनेछन् ।
सलमानका ज्वाईं आयुष शर्माको प्रमुख भूमिका रहने फिल्मलाई करण भुटानीले निर्देशन गर्दैछन् । जनवरीदेखि ‘क्वाथा’ को छायांकनमा व्यस्त हुने सुनिलले मुम्बई पुगेर कागजी सम्झौता गर्नेछन् । यद्दपी मौखिक सहमति भने भैसकेको छ ।











