फिल्म । कलाकारिताबाट आफ्नो पहिचान स्थापित गरेर समाजसेवामा मोडिएको सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ को जोडीले निर्माण गरेको फिल्म ‘सेन्टी भाइरस’ को छायांकन सकिएको छ । एक गीत बाँकी राख्दै शुक्रबार फिल्मको सुटिङ प्याकअप गरिएको हो । झन्डै एक महिना फिल्मको छायाँकन भएको हो ।
रामबाबु गुरुङ निर्देशित फिल्ममा सितारामसँगै कुञ्जना घिमिरे, दयाहाङ राई, राजाराम पौडेल, विल्सन विक्रम राई, बुद्धि तामाङ, कमलमणी नेपाल, सूर्यमाला खनाललगायतका कलाकारहरुको पनि अभिनय छ । रुपाकोट र पोखरामा छायांकन भएको फिल्म सामाजिक व्यंग्यमा निर्माण भएको बताइएको छ । शैलेन्द्र डि. कार्कीले फिल्मको सम्पूर्ण दृश्य खिचेका हुन् ।
‘सेन्टी भाइरस’ बाट पहिलो पटक ‘धुर्मुस-सुन्तली’ फिल्म निर्माणमा होमिएका हुन् । उनीहरुको होम प्रोडक्सन कम्पनी सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्माण भएको यस फिल्ममा राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ ।यसलाई डिन्डु लामा ह्योल्मोले फिल्मको निर्माण गरेकी हुन् भने, सह-निर्मातामा फूर्पा लामा रहेका छन् । निर्देशक रामबाबुले फिल्मलाई उत्कृष्ट बनाउने कुनै कसर बाँकी नराखेको दाबी गरेका छन् ।








