फिल्म । पछिल्लो समय कलाकारहरु आफ्नो भूमिका प्रति सतर्क हुन् थालेका छन् । छिमेकी मुलुक भारतमा आफुले पाएको चरित्रलाई जिवन्त बनाउन कलाकारले गर्ने मेहनतले नेपाली सेलेब्सलाई पनि प्रेरित गर्न थालेको छ । यसै गर्दा हुन् सक्छ प्रदर्शनरत फिल्म ‘जाइरा’ को क्लाइमेक्सको लागि नम्रता श्रेष्ठ कपाल मुण्डन झैँ गराइन । अर्थात निकै छोटो ।
यतिबेला छायाँकनरत फिल्म ‘आमा’ को लागि पनि सुरक्षा पन्तले कपाल निकै छोट्याएकी छिन् । त्यो मुण्डन नै नभए पनि निकै छोटो छ । कथाको माग अनुसार कपाल काटेको उनको भनाई छ । नेपाली फिल्ममा विरलै अभिनेत्रीले कपाल मुण्डन गर्छन् । सुरक्षाको अभिनयको भने सधैं चर्चा हुने गर्दछ ।
फरक भूमिकामा काम गर्न रुचाउने उनले विवाहित महिलादेखि लभर गर्लको भूमिकासम्म निभाइसकेकी छन् । एकपछि अर्को फिल्म ‘पशुपति प्रसाद’ फेम्ड निर्देशक दीपेन्द्र के. खनालको गरिरहेकी उनी यो फिल्ममा अभिनेत्री मिथिला शर्माकी छोरीको भूमिकामा छिन् । फिल्मका निर्देशक दीपेन्द्र हुन् ।
उनको यो ड्रिम प्रोजेक्ट भनिएको छ । ‘पशुपति प्रसाद’ पछि दर्शकले अर्को मनछुने कथामा ‘आमा’ हेर्न पाउने उनको दाबी छ । शर्मिला पाण्डे फिल्मकी निर्मात्री हुन् । डीएस डिजिटलको ब्यानरमा निर्माण हुन लागेको यस फिल्ममा आमा र छोरीको कथालाई उठान गर्नेछ । फिल्ममा देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको मुख्य भूमिका रहनेछ । फिल्मलाई निर्देशक खनाल आफैले खिच्दैछन् ।











