फिल्म । गत वर्षको नोभेम्बरमा स्पाइडर भर्सलाई रिलिज गरेको मार्भल स्टुडियोले यस वर्ष स्पाइडर म्यानको नयाँ सिरिज ‘स्पाइडर म्यान: फार फ्रम होम’ लाई गएको जुलाई ५ मा रिलिज गर्यो । टम हल्यान्ड फिल्ममा स्पाइडर म्यानको भूमिकामा छन् । जोन वाट्सको निर्देशन रहेको फिल्ममा टमले सन् २०१७ मा रिलिज भएको ‘स्पाइडर म्यान:होमकमिङ’ बाट प्रवेश गरेका थिए ।
उनलाई ‘क्याप्टेन अमेरिका’ को सिभिल वारबाट स्पाइडर म्यानको रुपमा परिचय गराइएको थियो । त्यसयता उनि एभेन्जर्ससँगै मार्भल स्टुडियोको विभिन्न फिल्ममा देखिएका आएका छन् । तर , अब उनको मार्भल सिरिजमा देखिने सम्भावनामा कमि आएको छ । उनलाई टोनी स्टार्कको विश्वासिलो पात्राको रुपमा स्थापित गरिए पनि राइट्सको कारणले समस्या आउने सम्भावना बढेको हो ।
स्पाइडर म्यानको राइट्स सन् १९८५ देखि नै सोनी पिक्चर्ससँग छ । सन् २०१५ मा सोनीले डिज्नेले अर्को सम्झौता गर्यो जसले गर्दा स्पाइडर म्यानको प्रवेश मार्भलमा भयो । तर यतिबेला डिज्नेले निर्माणमा ५० प्रतिशतको भागेदारीको शर्त राखेपछि सोनीसँगको सम्झौता रद्द हुने सम्भावना बढेको हो । यदि सोनी पिक्चर्ससँग डिज्नेको सम्झौता रद्द हुन्छ भने मार्भलले यहि सम्झौताको आधारमा स्पाइडर म्यानलाई आफ्नो सिनेम्याटिक युनिभर्समा सहभागी गराउन पाउने छैन । (एजेन्सी)












