फिल्म । आउँदो शुक्रबारबाट प्रदर्शनमा आउने फिल्म ‘जाइरा’ ले मोफसल टुर गरिरहेको छ । स्थानीय सञ्चारकर्मी र दर्शकलाई फिल्मको बारेमा जानकारी गराउने उदेश्यले फिल्म युनिट पोखरा , चितवन , लगायतका सहरमा पुगेर जानकारी गराउनेछ । मोफसलको यात्रा नेपाली फिल्मको लागि दोश्रो व्यापारिक स्टेशन मानिने पश्चिम नेपालको पोखरामा शुक्रबार प्रचारप्रसार गरेको छ । नायिका नम्रता श्रेष्ठ, अभिनेता प्रमोद अग्रहरी, कलाकारहरु सुजिता श्रेष्ठ र सम्राट मगरले फिल्मको बारेमा जानकारी गराएका हुन् । ‘अरुले हिम्मत गर्नु भएन त्यसैले मैले आफैले एक्सन फिल्मलाई अगाडी ल्याएको हुँ’ नम्रताले भनिन् ‘यसमा हिरोइनलाई एक्सन गरिरहेको देख्नु हुनेछ ।’
‘जाइरा’की निर्माता समेत रहेकी श्रेष्ठले आफुले यस प्रकारको भूमिकामा अभिनय गर्न सक्दिन भन्ने भ्रमलाई चिर्दै अभिनय गरेको बताईन् । उनले मिक्स मार्शल आर्ट फाईटसँग नेपालीहरु त्यति धेरै परिचित नभएकोले केहि नयाँ महसुश हुने बताइन । पत्रकार सम्मेलनमा अभिनेता प्रमोद अग्रहरीको लुक्सको चर्चा भयो । ट्रेलरमा देखिएको लुक्स बारे सञ्चारकर्मीको जिज्ञासामा उनले भदौ ६ गते फिल्म हेरेपछि उक्त राज खुल्ने बताए । अग्रहरीले ‘जाइरा’मा आफु नेगेटिभ भूमिकामा भएकोले ट्रेलरमा केहि ग्ल्यामर देखिएको प्रष्ट्याए । पत्रकार सम्मेलनसंगै पोखरामै ‘टम्बल वीड’ ब्याण्डले ‘जाइरा’को ओरिजिनल साउण्ड ट्रयाक ‘जिन्दगीको खेल’को प्रस्तुती दिएको छ ।

लेकसाइडको रोलिङ्ग स्टोन रक बारमा बिशेष प्रस्तुती दिँदै ब्याण्डले फिल्मको ओएसटी प्रस्तुत गरेको हो । उक्त ओएसटी इन्टरनेटमा भने केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । फिल्मको ओएसटी निर्माण गरेको उक्त ब्याण्ड सोहि प्रस्तुतीको लागि पोखरा पुगेको थियो । लेकसाइडमा नै रहेको अल्टिच्युड लञ्जमा ‘मिट एण्ड ग्रिट’ कार्यक्रमको आयोजना गरिएको थियो । आशुतोष राज श्रेष्ठले निर्देश गरेको ‘जाइरा’मा नम्रता श्रेष्ठ, अनुप बिक्रम शाहि, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, सुजिता श्रेष्ठ, सम्राट मगर लगाएतका कलाकारहरुको अभिनय रहेको छ ।











