संगीत । ‘सप्तरंग’ को पहिलो सिजन सफलतापुर्वक सम्पन्न भएपछी गृष्मा ब्रोडकास्टिङले दोस्रो सिजनको लागि सात कलाकारको चयन गरेको छ । गृष्मा ब्रोडकास्टिङ प्रमुख गृहेन्द्र घिमिरेले सातै कलाकारसंग लिखित सम्झौतापछि कार्यक्रमको तयारी बढिरहेको बताएका छन् । पहिलो सिजन सातै प्रदेशमा शान्ति र सद्भावका लागि सात प्रदेशमा कार्यक्रम आयोजना गरेको गृष्माले दोस्रो सिजन पर्यटन प्रवर्धन र समुन्नतिको अभियानका रुपमा संचालन गर्नेछ । दोस्रो सिजनका लागि कलाकार राजेश हमाल, मेलिना राई, सुगम पोखरेल, हिमाल सागर, प्रकाश सपूत, रवि ओड र जितु नेपालसँग सम्झौता भइसकेको छ ।
‘हामीले पहिलो सिजनको कमीकमजोरीलाई यसपटक हटाएर थप राम्रो गर्ने प्रयास गरिरहेका छौ’ गृहेन्द्रले बताए । उनले दर्शककै डिमाण्ड अनुसार कलाकार चयन गरेको समेत बताए । सातै प्रदेशमा हुने ‘सप्तरङ्ग’ को दोश्रो संस्करणमा सहभागी हुन दर्शकले कुनै पनि किशिमको शुल्क तिर्नु पर्न्ने छैन ।
सांगितिक यात्राको माध्यमबाट सातै प्रदेशको पर्यटकिय स्थानको प्रवर्धन र सम्भावनाको खोजी गरिने समेत उनको योजना छ । पर्यटन वर्ष २०२० लाई लक्षित गरिँदै आयोजना गरिने यो कार्यक्रमले संगीत र मनोरञ्जन मात्र नभई स्थानिय कला संस्कृति पनि उजागर गर्नेछ । यसका साथै स्थानिय क्षेत्रको पर्यटकिय क्षेत्र र त्यसको संभावना पनि पहिल्याउनेछ । ‘सप्तरंग’ को पहिलो सिजनमा रामकृष्ण ढकाल, प्रमोद खरेल, इन्दिरा जोशी, पशुपति शर्मा, अन्जली अधिकारी, सन्दीप क्षेत्री र दिपाक बिष्ट अनुबन्धित भएका थिए ।





