‘जात्रै जात्रा’ ले सत्यो ५१ दिने खुशियाली (फोटो फिचर)

22 Shares

फिल्म । गत जेठ ३ गतेबाट प्रदर्शनमा आएको फिल्म ‘जात्रै जात्रा’ प्रदर्शनको ५१ औ दिन पार गरेको खुशियाली साटेको छ । एक्यूएफएक्स चेन, बिग मुभिज, अष्टनारायण, एफक्यूब, गुण सिनेमा, गोपी र विएसआर मुभिजमा यो फिल्मले ५१ दिने यात्रा सफलतापूर्वक पार गरेको हो । राजधानीमा ५१ औ दिनको आयोजित उत्सवमा फिल्म युनिटले आफ्नो टिम , मिडियाकर्मी र फिल्मकर्मीसंग खुसियाली साटेको हो । शनिबार (हिजो) राजधानीका सातवटा हलमा यसले प्रदर्शनको ५१ दिने यात्रा पार अवसरमा सिन्धुपाल्चोकमा एकीकृत माझी बस्ती निर्माणका लागि श्वेता श्री फाउण्डेशनलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ ।

टिमले १ लाख ११ हजार १ सय ११ रुपैयाँको चेक अभिनेत्री श्वेता खड्कालाई प्रदान गर्‍यो । फिल्मको प्रचारको क्रममा अभिनेता विपिन कार्की र दयाहाङ राई टेलिभिजन कार्यक्रम को बन्छ करोेडपति ? मा पुगेका थिए । त्यहाँ जितेको सम्पूर्ण रकम श्वेता श्री फाउण्डेशनलाई प्रदान गर्ने निर्माण टिमले घोषणा गरेको थियो । तर, केबीसीमा विपिन र दयाहाङले १० हजारभन्दा बढी जित्न सकेनन् । त्यसमा निर्माण टिमले एक लाख १ हजार १ सय ११ थप गरेर फाउण्डेशनलाई हस्तान्तरण गरेको हो । ‘जात्रै जात्रा’ ले प्रदर्शनको ५१ दिने सफलतापूर्वक मनाउन सफल भएको अवसरमा आयोजित कार्यक्रममा फिल्मका कलाकार, निर्देशक, निर्माता, प्राविधिक, वितरक, हल सञ्चालक र पत्रकारलाई कदर पत्र प्रदान गरिएकोे थियो ।

फिल्मको सफलतामा खुसीयाली मनाउन मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, किरण केसी, पूजा शर्मा, दीपकराज गिरी, दीपाश्री निरौला, हेमराज विसी , निश्चल बस्नेत , जितु नेपाल, केदार घिमिरे, चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराई ,प्रचण्डमान श्रेष्ठ, सन्जोग कोइराला, सन्दिप क्षेत्रीलगायत थुपै फिल्मकर्मीहरु पुगेका थिए । निर्देशक भट्टराई निर्देशित तिन फिल्म जात्रा , शत्रु गते र जात्रै जात्राले लगातार ५१ औ दिने यात्रा पार गरेपछि निर्माण टिमले पनि निर्देशक भट्टराईलाई ह्याट्रिकको बधाईसहित उनको फोटो अंकित ठूलो फ्रेम प्रदान गर्यो, जहाँ ५१ दिन मनाएका उनी निर्देशित तीन फिल्मकै नाम लेखिएको थियो ।

‘यो सफलता हामी सबैको हो , दर्शकको मन जित्ने फिल्म बनाउन सकु’ निर्देशक भट्टराईले भने । उनले फिल्म स्वदेश तथा विदेशमा चलाउन सहयोग गर्ने सबैलाई धन्यवाद पनि दिए । यसैगरी कार्यक्रममा बोल्दै बरिष्ठ कलाकार हरिवंश आचार्यले प्रदीप मह सञ्चारको खम्बा रहेको बताए । ‘प्रदीपको कामले हाम्रो छाती गर्वले फुलाउदै गएको छ र यो उनको मेहनतक फल हो’ हरिवंशले भने । लामो समय मह सञ्चारले निर्माण गर्ने टेलिसिरियलमा सहायक र पूर्ण निर्देशक भएर आफूलाई निर्देशकको रुपमा निखारेका प्रदीप पछिल्लो समय आफ्नै लेखन र निर्देशन रहेको तीन फिल्मले हलमा ५१ दिने मनाउने उनी नेपाली फिल्मका पहिला निर्देशक हुन् । ‘जात्रै जात्रा’ मा विपिन कार्की, दयाहाङ राई, रविन्द्र झा, रविन्द्र सिंह बानियाँ, वर्षा राउतलगायतका कलाकारहरुको अभिनय छ ।

तस्वीरहरु : आर्यन बिमली

Facebook Comments