चपसंघद्वारा सम्मान तथा पुरस्कार घोषणा

फिल्म । चलचित्र पत्रकार संघ, नेपालको जेठ १ गते बुधबार बसेको कार्यसमिति बैठकले ‘चलचित्र पत्रकारिता सम्मान तथा पुरस्कार – २०७६’ को घोषणा गरेको छ । अध्यक्ष सन्दीप सापकोटाको अध्यक्षतामा बसेको बैठकले इमेज एफका सिनियर प्रस्तोता तथा जयहोस् डटकमका प्रधान सम्पादक सिनियर सञ्चारकर्मी नरेश भट्टराई र संघका सदस्य तथा भिजनसंसार डटकमका सम्पादक श्याम स्मृतलाई ‘चलचित्र पत्रकारिता सम्मान २०७६’ प्रदान गर्ने निर्णय गरेको छ । भट्टराई र स्मृतलाई चलचित्र पत्रकारितामा पुर्‍याएको योगदानको कदर गर्दै संघले सम्मान गर्न लागेको हो ।

यसैगरी, संघले संघका पूर्व कार्यसमिती सदस्य तथा रातोपाटी डटकममा कार्यरत कुवेर गिरी र संघकी पूर्व कार्यसमिती सदस्य तथा एबिसी टेलिभिजनमा कार्यरत शारदा थापालाई ‘चलचित्र पत्रकारिता पुरस्कार २०७६’ प्रदान गर्ने निर्णय गरेको छ । चलचित्र पत्रकारितामा देखिएको सक्रियता र योगदानको कदर गर्दै गिरी र थापालाई पुरस्कृत गर्न लागिएको हो । पुरस्कार स्वरुप नगद २१ हजार रुपैयाँ, ताम्रपत्र तथा ट्रफी प्रदान गरिनेछ । साथै, संघका सदस्य तथा मेरोफिल्म डटकममा कार्यरत फोटो पत्रकार विनोद पोखरेललाई ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७६’ प्रदान गरिने भएको छ ।

पत्रकारितामा आवद्द भएको छोटो समयमा नै फोटो पत्रकारका रुपमा स्थापित पोखरेललाई प्रोत्साहन स्वरुप पुरस्कार दिन लागिएको हो । प्रोत्साहन पुरस्कारमा १ थान ल्यापटप, ताम्रपत्र र ट्रफी रहनेछ । आगामी जेठ ७ मा हुन गईरहेको २० औं स्थापना दिवसको अवसरमा भव्य कार्यक्रम बीच सम्मान तथा पुरस्कार प्रदान गरिने संघका अध्यक्ष सापकोटाले जानकारी दिए । चलचित्र पत्रकार संघ स्थापना भएको दिनमा पत्रकारलाई थप जिम्मेवार र प्रोत्साहनको रुपमा सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको छ । जयहोस् डटकमको तर्फबाट सम्मानित , पुरस्कृत तथा प्रोत्साहन पुरस्कार प्राप्त गर्ने सम्पूर्णलाई हार्दिक बधाई ।

कमेन्ट गर्नुहोस्