फिल्म । आमा नाममै तेस्रो पटक फिल्म निर्माण हुने भएको छ । नेपालमा बनेको पहिलो नेपाली फिल्म ‘आमा’ नाम सापटी लिएर निर्देशक दिपेन्द्र के खनालले फिल्म निर्देशन गर्ने भएका छन् । यो नाममा हीरासिंह खत्रीले वि.सं. २०२० मा फिल्म बनाएका थिए । यसपछि २०५१ सालमा रेसराज आचार्यले पनि ‘आमा’ नाममा फिल्म बनाए । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्मको बारेमा जानकारी गराइएको हो ।
आमा र छोराको कथालाई लिएर फिल्म तयार हुनेछ । फिल्ममा बुढेसकाल लागेको आमा र विदेशिएको छोराको जीवनको कथालाई देखाइनेछ । फिल्मको छायांकन निर्देशक खनाल आफैंले गर्दैछन् । कथा पनि उनकै हो । यसअघि उनले फिल्म ‘धनपति’ पनि आफैले खिचेका थिए । ‘एउटा राम्रो फिल्म बनाउने प्रयास रहनेछ’ दिपेन्द्रले भने ‘मैले आफैले निकै आश गरेको फिल्म हो र मलाइ राम्रो फिल्म बनाइस भन्ने धेरै हुनेछन् ।’ फिल्मलाई शर्मिला पाण्डेले निर्माण गर्नेछिन् ।
काठमाडौं र रामेछापमा छायांकन हुने फिल्मको सह-निर्मातामा सन्तोष अधिकारी छन् । फिल्मको टाइटल क्यारेक्टरमा सुर्यमाला खनाल रहनेछिन् । उनले आमाको भूमिका निर्वाह गर्दैछिन् । ‘मैले कथा सुनेरै अभिनय गर्ने सहमति दिएकी हु’ उनले भनिन् ‘निर्देशकको बारेमा सुनेकी थिए तर अहिलेसम्म कुनै फिल्म हेर्न पाएकी छैन ।’ छोरीको भूमिकामा अभिनेत्री सुरक्षा पन्त अनुबन्ध भएकी छन् । भुपेन्द्र खड्काले फिल्मको गीत लेखेका छन् । देशभक्त खनाल, सरिता गिरी, आशान्त शर्मा, मनिष निरौला, पदम बुढाको पनि अभिनय रहने फिल्मको छायाँकन असार दोस्रो हप्ताबाट सुरु हुँदैछ । प्रदर्शन मिति आउँदो फागुन ९ गतेलाई तय गरिएको छ ।










