स्वास्थ्य । मेट्रोल्याब्स प्रालिले विश्व मधुमेह दिवसको अवसरमा सुरु गरेको सामुदायिक निःशुल्क मधुमेह परीक्षण अभियानलाई निरन्तरता दिएको छ । ‘सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ नारासहित सञ्चालन भइरहेको अभियानमार्फत ५ हजारभन्दा बढी व्यक्तिको निःशुल्क परीक्षण गर्ने लक्ष्य कम्पनीले लिएको छ ।संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत सञ्चालन गरिएको अभियान सन् २०२६ डिसेम्बर ३१ सम्म जारी रहनेछ । यस अवधिमा समुदायलाई करिब एक करोड रुपैयाँ बराबरको निःशुल्क स्वास्थ्य परीक्षण सेवा उपलब्ध गराउने लक्ष्य रहेको मेट्रोल्याब्सले जनाएको छ ।
अभियानको औपचारिक शुभारम्भ नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान, नेपाल क्रिकेट संघ (क्यान) का सचिव तथा मेट्रोल्याब्सका ब्रान्ड एम्बेसडर पारस खड्का र काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले रक्तनमुना दिएर गरेका थिए । अभियानअन्तर्गत सर्वसाधारणले रगतमा चिनीको तत्कालीन मात्रा मापन गर्ने ब्लड सुगर र पछिल्लो तीन महिनाको औसत चिनीको मात्रा देखाउने एचबीए१सी परीक्षण निःशुल्क गराउन सक्नेछन् ।
अभियानको शुभारम्भका क्रममा क्यानका सचिव पारस खड्काले मधुमेहविरुद्धको लडाइँ रोग लागेपछि मात्र नभई समयमै सचेत भएर सुरु गर्नुपर्ने बताएका थिए । स्वस्थ खानपान, नियमित व्यायाम र समयमै स्वास्थ्य परीक्षण मधुमेहको जोखिम न्यूनीकरणका महत्त्वपूर्ण उपाय भएको उनको भनाइ थियो ।
आफूले समेत परीक्षण गराएर अभियानमा सहभागिता जनाएको उल्लेख गर्दै उनले सर्वसाधारणलाई निःशुल्क परीक्षण सुविधाको उपयोग गर्न तथा परिवारका सदस्य र साथीभाइलाई पनि नियमित स्वास्थ्य परीक्षणका लागि प्रेरित गर्न आग्रह गरेका थिए । त्यसैगरी, काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का अध्यक्ष सरोज ढकालले स्वस्थ समुदाय निर्माणका लागि नागरिकमा नियमित स्वास्थ्य परीक्षण गर्ने र रोगको समयमै पहिचान गर्ने बानीको विकास आवश्यक रहेको बताएका थिए।
अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) को अनुमानअनुसार नेपालमा करिब १२ लाख ६० हजार वयस्क मधुमेहबाट प्रभावित छन् । तीमध्ये ७० प्रतिशतभन्दा बढीलाई आफूलाई मधुमेह भएको जानकारीसमेत नभएको मेट्रोल्याब्सले उल्लेख गरेको छ । मधुमेह प्रारम्भिक अवस्थामा स्पष्ट लक्षणबिना पनि विकसित हुन सक्ने भएकाले नियमित परीक्षणमार्फत समयमै पहिचान गर्नु महत्त्वपूर्ण मानिन्छ । समयमै रोग पहिचान गरी उचित व्यवस्थापन गर्न सके यसबाट उत्पन्न हुन सक्ने गम्भीर स्वास्थ्य जटिलताको जोखिम कम गर्न सकिन्छ।
अभियानमा सहभागी सेवाग्राहीले आफ्नो परीक्षण रिपोर्ट ‘माई हेल्थ नाउ’ मोबाइल एपमार्फत प्राप्त गर्न सक्नेछन् । कम्पनीका अनुसार परीक्षण रिपोर्ट भारतको एम्समा अध्ययन गरेका वरिष्ठ प्याथोलोजिस्ट (एमबीबीएस, एमडी प्याथोलोजी) बाट प्रमाणित हुनेछ।
त्यसैगरी, परीक्षण रिपोर्ट प्राप्त भएपछि सेवाग्राहीलाई निःशुल्क चिकित्सकीय परामर्शसमेत उपलब्ध गराइनेछ। यसबाट परीक्षणपछि आवश्यक स्वास्थ्य सल्लाह तथा आगामी स्वास्थ्य व्यवस्थापनबारे जानकारी प्राप्त गर्न सहज हुने कम्पनीको अपेक्षा छ।
मेट्रोल्याब्सले विशेषगरी ३० वर्ष वा सोभन्दा माथिका नागरिकलाई अभियानमा सहभागी हुन आग्रह गरेको छ। परिवारमा मधुमेहको इतिहास भएका, उच्च रक्तचाप वा कोलेस्ट्रोलको समस्या भएका, ज्येष्ठ नागरिक तथा गर्भावस्थामा मधुमेह देखिएका वा पहिले यस्तो समस्या भोगेका महिलालाई विशेष प्राथमिकताका साथ परीक्षण गराउन आग्रह गरिएको छ।
काठमाडौं महानगरपालिका वडा नम्बर ३१ का नागरिकलाई विशेष प्राथमिकता दिइएको यस अभियानमा एक व्यक्तिले एक पटक मात्र निःशुल्क परीक्षण सेवा लिन सक्नेछन्। सेवा लिन इच्छुक नागरिकले ‘माई हेल्थ नाउ’ मोबाइल एप डाउनलोड गरी आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ।
‘आजको सानो कदमले भोलिको ठूलो स्वास्थ्य जोखिम कम गर्न सक्छ। सुगर जाँच गरौँ, भविष्य जोगाऔँ’ भन्ने सन्देशसहित मेट्रोल्याब्सले सर्वसाधारण, परिवार, संघसंस्था तथा समुदायलाई अभियानमा सहभागी हुन र आफ्ना परिवारजन तथा साथीभाइलाई समेत मधुमेह परीक्षणका लागि प्रेरित गर्न अपिल गरेको छ।






