फिल्म । दर्शकको बढ्दो अपेक्षालाई सम्बोधन गर्दै काठमाडौँको कमलपोखरीस्थित सिटी सेन्टरमा रहेको मल्टिप्लेक्स बिग मुभिजले अन्तर्राष्ट्रियस्तरको प्रविधि भित्र्याएको छ । दुई दशकअघि नेपालमा आधुनिक मल्टिप्लेक्स संस्कृतिको सुरुवात गर्ने पहिलो मल्टिप्लेक्सका रूपमा परिचित बिग मुभिजले हलको नवीकरण गरी अत्याधुनिक सुविधासम्पन्न बनाएको हो ।
नवीकरणका क्रममा कम्पनीले आफ्नो मूल नारा ‘एक्सपिरियन्स सिनेमा, एक्सपिरियन्स द डिफरेन्स’लाई सार्थक बनाउन दृश्य प्रविधि, ध्वनि प्रणाली, सिट र वातावरणलगायत सबै पक्षमा अन्तर्राष्ट्रियस्तरको सुविधा थपेको जनाएको छ।
बिग मुभिजले अत्याधुनिक दृश्य प्रविधिअन्तर्गत बारकोको ४ के आरजीबी लेजर प्रोजेक्टर जडान गरेको छ । युरोपेली ब्रान्ड बारकोको एसपी४के-२०सी (सिरिज ४) स्मार्ट लेजर प्रोजेक्टरमा २१ हजार ल्युमेन्स ब्राइटनेस र ४के (४०९६×२१६०) नेटिभ रिजोलुसन रहेको छ । पर्दामा फिल्मका दृश्य स्पष्ट, चम्किला र जीवन्त देखाउन ठूलो लगानीमा उक्त प्रोजेक्टर जडान गरिएको कम्पनीले जनाएको छ।
ध्वनि प्रणालीतर्फ बिग मुभिजले ६४ च्यानलको डल्बी एटमस थ्रीडी इमर्सिभ साउन्ड सिस्टम जडान गरेको छ। परम्परागत ध्वनि प्रणालीभन्दा फरक यस प्रविधिमा प्रत्येक स्पिकरलाई स्वतन्त्र अडियो फिड दिइन्छ। हलको छत र चारैतिर राखिएका स्पिकर तथा सीपी–५ए साउन्ड प्रोसेसरको सहायताले एकैपटक १२८ वटासम्म ध्वनि वस्तु नियन्त्रण गर्न सकिने कम्पनीले जनाएको छ। यसले दर्शकलाई चारैतिरबाट ध्वनि आएको अनुभूति गराउनेछ। विशेषगरी एक्सन तथा ध्वनिप्रधान फिल्म हेर्दा दर्शकले थप रोमाञ्चक अनुभव लिन सक्नेछन्।
दर्शकको आरामलाई ध्यानमा राख्दै हलका सिटसमेत परिवर्तन गरिएको छ। बिग मुभिजले नयाँ लक्जरी तथा एर्गोनोमिक प्रिमियम सिट जडान गरेको छ। दर्शकको सहजताका लागि २२ इन्चका ‘च्याम्पियन सिरिज’ का २५५ वटा थिएटर कुर्सी राखिएका छन्। ती कुर्सीमा आधुनिक एर्गोनोमिक डिजाइन, रिच ल्यामिनेटेड कपडा र तीनवटा पोजिसनमा लक गर्न मिल्ने सुविधा छ।
हलभित्र नयाँ कार्पेट, ध्वनि नियन्त्रण गर्ने भित्ताको आवरण र आधुनिक प्रकाश व्यवस्थासहित पूर्ण रूपमा नयाँ वातावरण तयार पारिएको बिग मुभिजका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए। उनले बिग मुभिजले आफ्नो इतिहास र पहिचान कायम राख्दै प्रविधि तथा सुविधामा नयाँ स्तर स्थापित गर्न खोजेको बताए।उनका अनुसार अब बिग मुभिजमा दर्शकले उत्कृष्ट दृश्य, ध्वनि, आरामदायी सिट र समग्र फिल्म हेर्ने अनुभव लिन सक्नेछन्।









