‘गौथली’ले पूरा गर्‍यो प्रदर्शनको १०० दिन

फिल्म । गत साउन १ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘गौथली’ले प्रदर्शनको १०० औँ दिन पूरा गरेको छ । चितवनको म्याङ्गो जनज्योति पर्सा र काठमाडौंको क्यूएफएक्स गुण सिनेमामा प्रदर्शनको सय दिन पूरा गर्दै फिल्मले विशेष उपलब्धि हासिल गरेको हो ।

दर्शकको साथ र मायाका कारण फिल्मले प्रदर्शनको सय दिनसम्मको यात्रा तय गर्न सफल भएको हो । फिल्मले हालसम्म २६ करोड रुपैयाँभन्दा बढीको कलेक्सन गरेको छ । यसका साथै यो सर्वाधिक कमाइ गर्ने दोस्रो नेपाली फिल्म बनिसकेको छ ।

फिल्म ‘गौथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ। बाल कलाकारका रूपमा अंशु ओली र प्रिन्स नेपालीले अभिनय गरेका छन्।

डा. भोला रिजालको कथामा बनेको फिल्मको पटकथा तथा संवाद लेखनमा निर्देशक डा. कपिल रिजालसँगै निश्चल कुँवर, निरज नेपाल र गिरिराज घिमिरेले सहकार्य गरेका छन्।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। फिल्ममा सुमन गिरी र डा. कपिल रिजाल निर्माता छन् भने इन्दु गिरी, मनिष रिजाल, प्रलय रिजाल र जीवन ओली सहनिर्माताका रूपमा रहेका छन्।

कमेन्ट गर्नुहोस्