‘कबड्डी ५’ ले पायो युनिभर्सल सर्टिफिकेट

फिल्म । रामबाबु गुरुङको निर्देशनमा बनेको बहुप्रतीक्षित फिल्म ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले युनिभर्सल सर्टिफिकेट पाएको छ। केन्द्रीय चलचित्र जाँच समितिले शुक्रबार फिल्मलाई युनिभर्सल सर्टिफिकेट दिएको हो । युनिभर्सल सर्टिफिकेट पाएसँगै फिल्म सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । निर्देशक गुरुङका अनुसार, सेन्सर बोर्डका पदाधिकारीले फिल्मको प्रशंसा गरेका छन्। बोर्डका पदाधिकारीले ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ ले अघिल्ला शृङ्खलामा जस्तै सामाजिक कथालाई कमेडी शैलीमा प्रस्तुत गर्दै दर्शकलाई भरपूर मनोरञ्जन दिने प्रतिक्रिया दिएको उनले बताए।

यसअघि सार्वजनिक फिल्मका पोस्टर, टिजर, ट्रेलर र गीतलाई दर्शकले अत्यधिक रुचाएका छन्। टिजर र ट्रेलर हेरेपछि दर्शकले फिल्मप्रति उत्साह व्यक्त गरिरहेका छन्। फिल्म यस वर्ष दसैँको पर्सिपल्ट अर्थात् आगामी कात्तिक ६ गते प्रदर्शनमा आउनेछ। फिल्ममा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, विपीन कार्की, सिर्जना गुरुङ, मिरुना मगर र रिश्मा गुरुङ मुख्य भूमिकामा छन्।

ट्रेलरमा बेरोजगारीबाट दिक्क भएका काजी र उनको टोलीले मुस्ताङमा शान्ति होटल खोलेर नयाँ व्यवसाय सुरु गरेको कथा देखाइएको छ। त्यस्तै, काजीको नयाँ वैवाहिक जीवनमा आउने उतारचढाव र विपीन कार्कीको ग्याङसँग हुने टक्करलाई एक्सन तथा कमेडी शैलीमा प्रस्तुत गरिएको छ। ट्रेलरमा समेटिएका यी दृश्यलाई दर्शकले रुचाएका छन्। टिजरमा मिरुना मगर अर्थात् शान्ति मिसको झलक नदेखेपछि उनको खोजी गरिरहेका दर्शकले गीत र ट्रेलरमा उनको उपस्थिति देखेपछि खुसी व्यक्त गरेका छन्। त्यस्तै, ट्रेलरमा विपीन कार्कीको नयाँ र दमदार ग्याङस्टार अवतारले पनि दर्शकको ध्यान खिचेको छ। उनको भूमिकालाई लिएर दर्शकमाझ विशेष चासो देखिएको छ।

यसअघि प्रदर्शनमा आएका ‘कबड्डी’ का चारवटै शृङ्खला सफल भएका थिए। अघिल्ला फिल्मको सफलताका कारण पाँचौँ शृङ्खलाप्रति दर्शकको अपेक्षा उच्च छ। निर्देशक रामबाबु गुरुङले कथामा नयाँ ट्विस्ट थप्दै फिल्मलाई रोचक बनाएको भन्दै दर्शकले उनको प्रशंसा गरिरहेका छन्।

ट्रेलर सार्वजनिक हुनुअघि रिलिज गरिएको ‘थाक खोला’ गीतले पनि दर्शकमाझ कौतूहल बढाएको निर्माण टिमको दाबी छ। गीतले फिल्मप्रतिको चर्चा र प्रतीक्षा थप बढाएको छ। अघिल्ला चारवटै शृङ्खलाले नेपाली फिल्म क्षेत्रमा उल्लेखनीय सफलता हासिल गरेकाले ‘कबड्डी ५’ लाई वर्षकै बहुप्रतीक्षित फिल्ममध्ये एकका रूपमा हेरिएको छ। फिल्मले व्यावसायिक रूपमा ठूलो सफलता हासिल गर्ने अपेक्षा पनि गरिएको छ।

फिल्ममा दयाहाङ राई, विपीन कार्की, विजय बराल, बुद्धि तामाङ, रिश्मा गुरुङ, सिर्जना गुरुङ, पुष्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंसहितका कलाकारको अभिनय रहेको छ।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा निर्माण भएको फिल्ममा निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ (एलजी) को लगानी छ। सागर राज कार्यकारी निर्माता रहेको फिल्ममा कालीप्रसाद बाँस्कोटा, अधा सुर र झुमा लिम्बूको संगीत रहेको छ। फिल्मको छायांकन सञ्जय लामाले गरेका छन् भने सम्पादन सुरेन्द्र पौडेलको छ।

फिल्मका मुख्य सहायक निर्देशकमा सोमनाथ खनाल र तारानाथ न्यौपाने छन्। नेपालमा फिल्मको वितरण ब्यांकटेश इन्टरटेनमेन्ट र टी फल्कले गर्नेछन् भने विदेशमा सेभेन सिज इन्टरनेसनलले वितरण गर्नेछ।

कमेन्ट गर्नुहोस्