‘ग्लोबल नेपाली फिल्म अवार्ड’ स्थगित

फिल्म । अस्ट्रेलियाको सिड्नीमा आगामी १७ डिसेम्बर २०२६ मा आयोजना हुने तय भएको ‘नवौँ ग्लोबल नेपाली फिल्म अवार्ड–२०२६’ स्थगित गरिएको छ।नेपाल फिल्म सोसाइटी, ग्लोबल नेपाली फिल्म अवार्ड एलएलसी, अमेरिका तथा भारा इन्टरटेन्मेन्टले संयुक्त विज्ञप्ति जारी गर्दै प्राकृतिक विपत्तिका कारण अवार्ड समारोह स्थगित गरिएको जानकारी दिएका हुन्।

देश प्राकृतिक विपत्तिको पीडामा रहेका बेला उत्सवको कार्यक्रम आयोजना गर्नु उचित नहुने निष्कर्षसहित अवार्ड समारोह स्थगित गरिएको आयोजकले जनाएको छ। प्राकृतिक विपत्तिका कारण धेरैको ज्यान गएको, परिवारहरूले आफन्त गुमाएको र देश अझै कठिन परिस्थितिबाट गुज्रिरहेको अवस्थामा नेपाली जनताको पीडाभन्दा ठूलो कुनै उत्सव हुन नसक्ने आयोजकको भनाइ छ।

आयोजकले अहिलेको संवेदनशील अवस्थामा कार्यक्रम आयोजना गर्नुभन्दा पीडामा रहेका नागरिकको साथमा उभिनु, उनीहरूको दुःखमा ऐक्यबद्धता जनाउनु र मानवीय संवेदना प्रस्तुत गर्नु आफ्नो दायित्व भएको जनाएको छ।

नेपाली फिल्म, कलाकार तथा फिल्मकर्मीलाई सम्मान तथा नेपाली कला-संस्कृतिको अन्तर्राष्ट्रिय प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ग्लोबल नेपाली फिल्म अवार्डको नयाँ मिति सम्बन्धित पक्ष, कलाकार, फिल्मकर्मी, प्रायोजक तथा साझेदार संस्थासँग आवश्यक छलफल र समन्वय गरी तय गरिने आयोजकले जनाएको छ। नयाँ मिति तथा कार्यक्रमसम्बन्धी जानकारी औपचारिक रूपमा सार्वजनिक गरिनेछ।

कमेन्ट गर्नुहोस्