‘गौँथली’ : २५ करोड बढी कलेक्सन, ९ लाखभन्दा बढी दर्शकले हेरे

फिल्म । कपिल रिजाल निर्देशित फिल्म ‘गौँथली’ले घरेलु बक्स अफिसमा २५ करोड रुपैयाँ ग्रसको आँकडा पार गरेको छ । चलचित्र विकास बोर्ड अन्तर्गत रहेको ‘सिनेमा @ बक्सअफिस’ विवरणअनुसार फिल्मले भदौ ७ गते ११ बजेसम्म २५ करोड ७ लाख ८६ हजार ८ सय ४० रुपैयाँ ग्रस कमाएको छ। उक्त अवधिसम्म फिल्मका ९ लाख १० हजार २ सय ३३ वटा टिकट बिक्री भएका छन् । ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्मसमेत बनेको छ ।

डा. कपिल रिजालको निर्देशनमा बनेको ‘गौँथली’मा अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सञ्जोग रसाइली, सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको अभिनय रहेको छ । नेपालमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको ‘गौँथली’ ले अमेरिका, अस्ट्रेलिया, बेलायत लगायतका डायस्पोरामा समेत अब्बल प्रदर्शन गरिरहेको छ । यसका साथै भदौ ७ गते (अगस्ट २३) मा जापान भव्य प्रिमियर सम्पन्न भएको छ ।

उनले त्यहाँ टोकियोसँगै अन्य विभिन्न सहरमा हुने शोमा सहभागिता जनाएर दर्शक भेट्नेछन् । ‘गौँथलीलाई लिएर जापानका दर्शक पनि निकै उत्साहित हुनहुन्छ, टोक्योमा २८ अगस्टमा पनि शो हुँदैछ । यसबाहेक अन्य सहरमा हुने शोमा पनि सहभागी हुनेछु’, अरुणले भने ।

भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन्। निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन्। फिल्मको वितरण रिच इन्टरटेनमेन्ट, एप्पल इन्टरटेनमेन्ट र एफडी कम्पनीले गरेका छन्।

महिलाको संघर्ष र संवेदनाको कथावस्तुमा आधारित फिल्ममा सिम्रन खड्का र अरुण क्षेत्री शीर्ष भूमिकामा छन्। २५ करोडभन्दा बढीको व्यापारसँगै ‘गौँथली’ नेपाली फिल्मको इतिहासमा सर्वाधिक कमाउने दोस्रो फिल्म बनेको छ।

यसैबीच, फिल्मका निर्माता ५१ दिनको प्रदर्शन पूरा भएको अवसरमा नयाँ फिल्म घोषणा गर्ने तयारीमा रहेका छन्। निर्माण पक्षले उक्त अवसरमा नयाँ फिल्मसम्बन्धी जानकारी सार्वजनिक गर्ने तयारी गरेको छ।

कमेन्ट गर्नुहोस्