फिल्म । व्यक्तित्व र अभिनय क्षमताका कारण सधै चर्चामा रहने अभिनेता दिव्यदेव पन्तको आगामी फिल्म ‘बा : एक योद्धा’ प्रदर्शनको सङ्घारमा छ । फिल्ममा उनले बाको भूमिका निर्वाह गरेका छन् । फिल्म उनकै वरिपरी घुमेको छ । पछिल्लो समय उनले फरक रुपमा फिल्ममा आफूलाई प्रस्तुत गरेका छन् । त्यसो त पहिला ‘बा’ को भूमिका उनलाई अफर गरिएको थिएन् ।
‘मलाई अर्कै भूमिका प्रस्ताव गरिएको थियो, यद्यपि कथा पढेपछि मैले बाको भूमिका गर्ने प्रस्ताव गरे । एउटै झैँ लाग्ने भूमिकाबाट निराश भएर नयाँ भूमिका खोजिरहेको समयमा मलाई ‘बा : एक योद्धा’ मा काम गर्ने प्रस्ताव आएको थियो । मैले पाएको यो भूमिकाको पर्खाइ सायद मलाई थियो’, अभिनेता पन्तले भने ।
उनले आफूले खोजिरहेको भूमिका ‘बा: एक योद्धा’ मा पाएको बताए । ‘हाम्रो उमेरसँगै बुझाइ पनि फरक हुन्छ र त्यहि अनुरूपको भूमिका रोजाईमा पर्छ । म मा पनि त्यहि भएको हुनसक्छ, एउटा फरक र आफैँलाई च्यालेन्जीङ लाग्ने भूमिका गरौँ भन्ने लागेर गरेको हुँ’, उनले भने ।
सङ्गीतकार हरि लम्सालको लेखन तथा निर्देशनमा तयार भएको फिल्म ‘बा : एक योद्धा’ को केन्द्रमा बुवाको संघर्ष, त्याग र बलिदानलाई राखिएको छ । सन्तानको सुख र खुसीका लागि बुवाले गर्ने संघर्ष तथा आवश्यक पर्दा जस्तोसुकै त्याग गर्न तयार हुने बाबुको कथालाई फिल्ममा देखाएइको छ ।
फिल्म ‘बा : एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउने भएको छ । नेपाली समाजमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर भोग्ने चुनौतीलाई फिल्मको मुख्य कथा बनाइएको निर्माण पक्षले जनाएको छ । फिल्ममा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापालगायत कलाकारको अभिनय रहेको छ ।
नेपाली संगीत क्षेत्रमा दर्जनौं चर्चित गीत दिएका संगीतकार हरि लम्साल रचनाकार तथा गायकसमेत हुन् । फिचर फिल्म निर्देशनमा भने ‘बा : एक योद्धा’ उनको डेब्यु निर्देशन हो । आर्टिस्टिक इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्मको कथा तथा पटकथा पनि लम्सालकै हो । फिल्मका निर्माता वसन्त लम्साल हुन् । अनिल बुढाथोकी कार्यकारी निर्माता, अर्जुन पौडेल लाइन प्रोड्युसर तथा कृष्ण काफ्ले सहनिर्माता रहेका छन् ।
शिवराम श्रेष्ठको छायांकन रहेको फिल्ममा तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक छन् । भदौ १९ गते प्रदर्शनमा आउने फिल्मलाई आशिष एच तामाङ र प्रदीप धामीको कुवेर सिने डिस्ट्रिब्युसनले वितरण गर्नेछ ।












