यी कलाकारले दिनेछन् इन्फा अवार्डमा प्रस्तुती

फिल्म । नेपाली फिल्म क्षेत्रको प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्डका रूपमा स्थापित हुँदै गएको इन्टरनेशनल नेपाली फिल्म अवार्ड्स (इन्फा अवार्ड–२०२६) को तेस्रो संस्करण नजिकिएसँगै तयारी तीव्र पारिएको छ । आगामी साउन ३० गते (१५ अगस्ट २०२६) काठमाडौंको याक एण्ड यति होटलमा आयोजना हुने अवार्ड समारोहलाई भव्य र अन्तर्राष्ट्रियस्तरको बनाउन आयोजक टोली अन्तिम तयारीमा जुटेको हो।

इन्फा इभेन्ट्स यूके र इन्फा इभेन्ट्स नेपालको संयुक्त आयोजनामा हुन लागेको तेस्रो संस्करण पहिलोपटक नेपालमा आयोजना हुँदैछ। यसअघि इन्फा अवार्डका पहिलो र दोस्रो संस्करण बेलायतको लन्डनमा सम्पन्न भएका थिए।

अवार्ड समारोहका लागि स्टेज सजावट, साउन्ड सिस्टम, लाइटिङ, प्राविधिक व्यवस्थापन, कलाकार तथा अतिथिको स्वागत र कार्यक्रम सञ्चालनलगायतका तयारी अघि बढाइएको आयोजकले जनाएको छ। समारोहस्थल याक एण्ड यति होटलमा प्राविधिक तथा व्यवस्थापन टोलीले कामलाई अन्तिम चरणमा पुर्‍याएको छ।

यसपटकको अवार्ड समारोहलाई पुरस्कार वितरणसँगै सांगीतिक, नृत्य तथा हास्य प्रस्तुतिले विशेष बनाउने तयारी गरिएको छ। आयोजकका अनुसार समारोहमा विभिन्न कलाकारले विशेष प्रस्तुति दिनेछन् । एलिशा शर्माको नृत्य, रिहान गिरीको सांगीतिक प्रस्तुति, उषा उप्रेती र पल शाको नृत्य, बाबुल गिरीको सांगीतिक प्रस्तुति, समर्पण लामाको नृत्य, कमेडी दरबार टिमको हास्य प्रस्तुति, कविता नेपालीको नृत्य प्रस्तुति, झुमा लिम्बुको सांगीतिक प्रस्तुति, खुशी कार्की, तेरिया फौजा मगर र दिया मास्केको नृत्य अवार्ड समारोहमा रहने आयोजकले जनाएको छ ।

विभिन्न विधाका कलाकारहरूको सहभागिताले अवार्ड समारोह थप मनोरञ्जनात्मक हुने आयोजकको अपेक्षा छ । विशेषगरी नृत्य, संगीत र हास्य प्रस्तुतिलाई समारोहको प्रमुख आकर्षण बनाउने तयारी गरिएको छ। अवार्डको मिति नजिकिँदै गर्दा आयोजकले कार्यक्रमस्थलको व्यवस्थापनलाई उच्च प्राथमिकता दिएको छ। स्टेज डिजाइन तथा सजावट, साउन्ड, लाइट, प्राविधिक व्यवस्थापन र कार्यक्रम सञ्चालनका लागि आवश्यक उपकरण तथा जनशक्ति तयारी अवस्थामा राखिँदैछ।

नेपालमा पहिलोपटक आयोजना हुन लागेको इन्फा अवार्डको तेस्रो संस्करणलाई विगतका संस्करणभन्दा अझ व्यवस्थित, आकर्षक र अन्तर्राष्ट्रियस्तरको बनाउने प्रयास भइरहेको आयोजकको भनाइ छ।

यस वर्षको आयोजनामा बेलायत र नेपालका आयोजक तथा फिल्मकर्मीको संयुक्त सक्रियता रहेको छ। इन्फा यूके लन्डन टिमका अध्यक्ष उमेशराज मोक्तानसहित बोर्ड निर्देशकहरू टंक भट्टराई, पाल्देन लामा, आशिषराज पन्त, राज पाण्डे र सुष्मा पौडेल काठमाडौं आइसकेका छन्।

त्यस्तै, इन्फा नेपालका अध्यक्ष सुनील श्रेष्ठ तथा बोर्ड निर्देशकहरू मनिष कार्की र मनोज केसी पनि समारोहको तयारीमा व्यस्त छन्। दुवै टोलीले अवार्डलाई नेपाली फिल्म क्षेत्रको अन्तर्राष्ट्रिय पहिचानसँग जोड्ने महत्वपूर्ण मञ्चका रूपमा विकास गर्ने लक्ष्य लिएका छन्।

आयोजकले इन्फा अवार्ड-२०२६ लाई पुरस्कार वितरणमा मात्र सीमित नराखी नेपाली फिल्म, कलाकार, भाषा, कला र संस्कृतिलाई विश्वसामु चिनाउने अभियानका रूपमा अघि बढाएको जनाएको छ।

नेपाली फिल्मकर्मीको सिर्जनात्मक योगदानलाई सम्मान गर्ने, उत्कृष्ट प्रतिभालाई प्रोत्साहन गर्ने तथा नेपाल र विदेशमा रहेका नेपाली फिल्मकर्मीबीचको सम्बन्धलाई थप बलियो बनाउने उद्देश्यले अवार्ड आयोजना गर्न लागिएको हो।

यसैबीच, समारोहमा सहभागी हुने कलाकार, फिल्मकर्मी तथा विशिष्ट अतिथिलाई निमन्त्रणा हस्तान्तरण गर्ने कार्य पनि जारी छ। आयोजक टोलीले समारोहलाई व्यवस्थित बनाउन विभिन्न पक्षसँग निरन्तर समन्वय गरिरहेको जनाएको छ।

अवार्डको मिति नजिकिँदै जाँदा तयारीले तीव्रता पाएको र मुख्य साँझमा प्रस्तुत हुने कलाकारहरूको सूचीसमेत सार्वजनिक भइसकेकाले यसपटकको इन्फा अवार्ड नेपाली फिल्म क्षेत्रको महत्वपूर्ण जमघटका रूपमा रहने अपेक्षा गरिएको छ।

कमेन्ट गर्नुहोस्