फिल्म । साउन २२ गतेदेखि देशभर प्रदर्शनमा आउन लागेको नेपाली फिल्म ‘हली’ को मार्मिक गीत ‘कहाँबाट ल्याउ बाबा पीडाभुल्ने मुटु’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा विपत्तिको समयमा सन्तानले आफ्ना बुवाप्रति व्यक्त गर्ने भावनालाई मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीतको शब्द फिल्मका अभिनेता प्रदीप दीपले लेखेका हुन् भने संगीत अभि सुनारको रहेको छ ।
चर्चित गायिका अस्मिता अधिकारीको स्वर रहेको गीतको भिडियोमा फिल्मका कलाकारहरूको भावपूर्ण अभिनय देख्न सकिन्छ । पूजा गुरुङ र जस्मिन श्रेष्ठको निर्माण रहेको फिल्मको लेखन तथा निर्देशन ओम प्रतीकले गरेका हुन् । प्रचार-प्रसारलाई तीव्र बनाइरहेको निर्माण टिमले यो गीतले पनि दर्शकको मन छुने विश्वास व्यक्त गरेको छ ।
फिल्ममा प्रदीप दीप, सुजाता थापा, विद्या कार्की, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, नवीन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय रहेको छ। निर्देशक ओम प्रतीक स्वयं पनि फिल्मको मुख्य भूमिकामा देखिएका छन् । यसअघि सार्वजनिक गरिएको फिल्मको प्रमोसनल गीतमा अभिनेत्री दीपाश्री निरौला, पूजा शर्मा र मिथिला शर्मालगायत कलाकारको अभिनय रहेको थियो, जसले दर्शकमाझ राम्रो लोकप्रियता हासिल गरेको थियो ।
जापुरा फिल्म्स प्रोडक्सन र शुभ चिरायु फिल्म्सको सहकार्यमा निर्माण भएको ‘हली’ क्रान्तिकारी सोचमा आधारित फिल्म हो । निर्माण पक्षका अनुसार फिल्मले देशमा परिवर्तन ल्याउन एक जना ‘हली’ नै पर्याप्त हुन्छ भन्ने सन्देश प्रस्तुत गर्नेछ ।
फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्वाजको संगीत रहेको छ । जश्मिन श्रेष्ठको शब्द तथा बाबुल गिरीको संगीत रहेको अर्को गीतमा बाबुल गिरी र गायिका शान्तिश्री परियारको स्वर सुन्न सकिनेछ ।
फिल्मका कार्यकारी निर्माता अर्जुन भुसाल, सहनिर्मात्री नम्रता भण्डारी, लाइन प्रोड्युसर लक्ष्मण कर्माचार्य तथा मुख्य सहायक निर्देशक जीवननाथ गौतम हुन् । राहुल राईको छायाङ्कन, रामप्रसाद चौधरी र विपिन मल्लको सम्पादन तथा कुमार महर्जनको द्वन्द्व निर्देशन रहेको फिल्मको वितरण नेसनल सिने ग्रुप प्रालिले गर्नेछ । फिल्मको डिजिटल पार्टनर ओएसआर डिजिटल रहेको छ ।









