एक्सन स्टारको सङ्घर्ष

फिल्म । अभिनेता निखिल उप्रेती नेपाली फिल्म उद्योगमा ‘एक्सन स्टार’ का रूपमा स्थापित छन् । उनले डेब्यु फिल्म ‘पिँजडा’ मै साततले भवनबाट हाम फालेर दर्शकलाई चकित बनाएका थिए । त्यो समय अहिलेझैँ अत्याधुनिक सुरक्षा उपकरणको प्रयोग नहुने भएकाले उनले आफ्नै जोखिममा उक्त दृश्य दिएका थिए । यही दृश्यले उनलाई रातारात चर्चामा ल्याएको थियो ।

त्यसपछि निखिलले नेपाली फिल्ममा एक्सन प्रस्तुतिको नयाँ शैली विकास गरे । उनका फिल्ममा फरक ढंगका एक्सन दृश्य समावेश हुन थालेपछि दर्शकको अपेक्षा पनि बढ्दै गयो । उनले नेपाली फिल्ममा एक्सनको ट्रेन्ड परिवर्तन गर्न सफल भए र ‘एक्सन स्टार’ को पहिचान स्थापित गरे । तर, यस्तो परिचय पाउने कल्पना आफूले कहिल्यै नगरेको निखिल बताउँछन् ।

उनका अनुसार गाउँमा हुर्किएकाले अभिनय क्षेत्रमा आउने सोचसमेत थिएन । ‘म गाउँमा हुर्किएको मान्छे । फिल्म खेल्छु भन्ने कहिल्यै सोचेको थिइनँ । अभिनयसँग मेरो कुनै सम्बन्ध थिएन’, उनले भने । यद्यपि, बाल्यकालदेखि नै ज्याकी च्यान र ब्रुस लीका फिल्म हेर्ने र उनीहरूका एक्सन शैली अनुकरण गर्ने प्रयास भने गर्ने गरेको उनी सम्झन्छन् ।

‘मलाई सिक्ने असाध्यै रहर छ, त्यसैले म निकै जिज्ञासु स्वभावको छु’, निखिल भन्छन् । उनले मार्सल आर्ट र तेक्वान्दोको प्रशिक्षण लिएका कारण पनि एक्सन अभिनयप्रति विशेष रुचि रहेको बताए । सर्लाहीमा विद्यालय शिक्षा पूरा गरेका निखिल उच्च शिक्षा अध्ययनका लागि वीरगन्ज हुँदै काठमाडौं आएका थिए ।त्यसपछि अभिनय र एक्सनको प्रशिक्षण लिन उनी मुम्बई पुगे ।

‘फिल्मसँग जोडिएको मेरो कोही पनि थिएन। त्यसैले मुम्बई गएर सिक्ने र संघर्ष गर्ने निर्णय गरेँ’, उनले भने । मुम्बईमा संघर्ष गरिरहेका बेला साथीहरूको हौसलाले पनि उनलाई अभिनयतर्फ अघि बढ्न प्रेरित गर्‍यो । नेपाल आउँदा उनी काठमाडौंमा अभिनेता पवन मैनालीसँग बस्ने गर्थे । दुवै सर्लाहीका भएकाले सामान्य चिनजान थियो । निखिलको मेहनत देखेर पवनले भविष्यमा फिल्म बनाए आफूलाई अवसर दिने वाचा गरेका थिए । पछि मुम्बईमै रहेका बेला पवनले उनलाई ‘पिँजडा’ मा अभिनयको प्रस्ताव दिएका थिए ।

नेपाल फर्किएर फिल्म खेल्नु मात्रै पर्याप्त नभएको निखिल बताउँछन् । दर्शकमाझ फरक पहिचान बनाउन नयाँपन आवश्यक रहेको महसुस गर्दै उनले एक्सनमा निरन्तर प्रयोग गरे । ‘पिँजडा’ अघि नै उनले बलिउड र दक्षिण भारतीय केही फिल्ममा प्राविधिकका रूपमा काम गरेर अनुभव बटुलिसकेका थिए ।

‘हरेक फिल्ममा नयाँ एक्सन गर्ने प्रयास गर्थें। त्यसक्रममा धेरै चोटपटक लाग्यो। नभाँचिएको हड्डी नै छैन भन्दा हुन्छ’, उनी भन्छन् । ‘पिँजडा’, ‘मायाको जाल’, ‘शिवशक्ति’, ‘कर्तव्य’ र ‘कुरुक्षेत्र’ जस्ता फिल्मको सफलतापछि निखिल अत्यधिक व्यस्त बने । उनले एक्सनकै कारण धेरै फिल्ममा काम गरे ।

त्यसक्रममा गुणस्तरभन्दा संख्यामा बढी ध्यान गएको स्वीकार गर्दै उनी भन्छन्, ‘त्यो बाध्यता थियो, मैले निकै दुःख गरेर त्यो स्थान बनाएको थिएँ । मेरो सानो उपस्थितिले पनि निर्माताको लगानी सुरक्षित हुन्छ भने त्यो गर्नु मेरो जिम्मेवारी थियो ।’ पछिल्लो समय भने उनले गुणस्तरीय फिल्म छनोटमा जोड दिएको बताए ।

निर्माताका रूपमा उनको पहिलो फिल्म ‘सावधान’ मा पनि उनले एक्सन र प्रविधिमा नयाँ प्रयोग गरेका थिए । गीतका दृश्यमा भिजुअल इफेक्ट्स (भीएफएक्स) प्रयोग गर्नुका साथै द्वन्द्व दृश्यका तार हटाउनेलगायतका पोस्ट-प्रोडक्सनका काम अस्ट्रेलियामा गराइएको थियो ।

निर्देशकका रूपमा डेब्यु गरेको ‘भैरव’ को सिक्वेल ‘भैरव २’ चर्चाकै बीच निखिलले नयाँ फिल्म ‘आचार्य’ तयार गरेका छन् । आगामी असोज ९ गते प्रदर्शनको तयारी मिलाई रहेका निखिलले आधिकारिक रुपमा घोषणा भने गरेका छैनन् । यद्यपि, फिल्म नजिकको स्रोतलाई मान्ने हो भने फिल्म दसैँ अगाडि असोज दोस्रो साता प्रदर्शन हुनेछ ।

कमेन्ट गर्नुहोस्