फिल्म । नेपाली फिल्म ‘आशा’ निर्माण घोषणा गर्न आयोजना गरिएको समारोहमा पुराना प्राविधिक कमल मिश्रलाई नगदराशिसहित सम्मान गरिएको छ । विसं २०४६ मा प्रदर्शन भएको फिल्म ‘अन्याय’बाट भेषभूषा विभाग (ड्रेस म्यान)मा काम सुरु गरेका मिश्रलाई निर्मात्री शर्मिला थापा, निर्देशक राजिव गुरुङ र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले नगदराशि ५१ हजार रुपैयाँसहित दोसल्लाह ओढाए संयुक्त रूपमा सम्मान गरेका थिए ।
पछिल्लो समय क्यान्सर पिडित भएर निको भएपछि ड्रेसम्यान मिश्र पुनः काममा सक्रिए भएका छन् । सम्मान ग्रहण गर्दै मिश्रले निर्माण टिमलाई धन्यवाद दिए । उनले भने, ‘हामीलाई काम गर्दासम्म सबैले सम्झिनु हुन्छ, म विरामी भएको थिएँ । अहिले निको भएर फाट्टफुट्ट काम गर्दैछु, यो अवस्थामा मैले पाएको यो आर्थिक सहयोगले मेरो जीविकोपार्जनमा ठूलो मदत पुग्छ । म निर्माण टिम प्रति कृतज्ञ छु ।’
उनले उक्त सम्मानले आफ्नो जीविकोपार्जनमा मदत पुग्ने बताउँदै खुसी व्यक्त गरे । शर्मिला थापाको लगानीमा बन्न लागेको फिल्मको लेखन तथा निर्देशन राजिव गुरुङले गर्नेछन् । ११ जना बटुकद्वारा स्वस्तिवाचन गरिएपछि फिल्मको शीर्षक र कलाकार सार्वजनिक गरिएको थियो ।
फिल्म ‘आशा’ मा महेश त्रिपाठी, अञ्जना बराइली, सुशील सिटौला, शुशांक मैनाली, आशान्त शर्मा, केनिपा सिंह, कविता रेग्मीलगायत कलाकारको मुख्य अभिनय रहनेछ । आगामी साउनेसक्रान्तिदेखि छायांकन हुने फिल्म आगामी माघेसंक्रान्तिलाई लक्षित गर्दै माघ १ गते प्रदर्शन हुनेछ ।
फिल्ममा रामकुमार श्रेष्ठ सह–लेखक तथा मुख्य सहायक निर्देशकका रूपमा रहेका छन् । सुदाम सीके स्क्रिप्ट सुपरभाइजर तथा कास्टिङ निर्देशक हुन् । नरेन्द्र मैनालीको छायांकन, युग भुसाल र समीर खरेलको संगीत, किशोर आचार्यको साउन्ड डिजाइन, लोकेश बज्राचार्यको सम्पादन तथा सोनाली शिल्पकारको मेकअप तथा हेयर रहनेछ ।
त्यस्तै, शान्ति तामाङ सहायक निर्देशक, अरुण रेग्मी प्रोडक्सन हेड, रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, रोयल भिमसेन (ट्राइडेन्ट कन्सेप्ट) पब्लिसिटी डिजाइनर तथा करण श्रेष्ठ (रिच इन्टरटेनमेन्ट) वितरकका रूपमा आबद्ध छन् ।









