फिल्म । आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘लज्जावती’ की मुख्य अभिनेत्री मेनुका माझी यतिबेला फिल्मको प्रचारप्रसारसँगै ‘फेस अफ नेपाल २०२६’ को तेस्रो संस्करणको तयारीमा पनि व्यस्त छिन् । मेनुका प्रतियोगिताकी राष्ट्रिय निर्देशक हुन्। उनले अभिनयसँगै फेस अफ नेपालमार्फत नयाँ प्रतिभाको खोजी र उनीहरूको क्षमता विकासमा सक्रिय भूमिका निर्वाह गर्दै आएकी छन्।
एमएस प्रोडक्सन प्रालिले आयोजना गर्ने ‘फेस अफ नेपाल–२०२६’ को तेस्रो संस्करणका लागि आवेदन खुला गरिएको छ। आयोजकले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आवेदन प्रक्रिया सुरु भएको जानकारी दिएको हो।
प्रतियोगितामा नेपालभरका १७ देखि ३० वर्ष उमेर समूहका पुरुष तथा महिला सहभागी हुन सक्नेछन्। इच्छुकहरूले फेस अफ नेपालको आधिकारिक सामाजिक सञ्जाल पेज तथा प्रतियोगिताको आधिकारिक भोटिङ पार्टनर एभेन्टोज (Aventoz) मार्फत आवेदन दिन सक्नेछन्।
आवेदनका लागि एक हजार रुपैयाँ दर्ता शुल्क निर्धारण गरिएको छ भने छनोट भएका प्रतियोगीले १५ हजार रुपैयाँ सहभागिता शुल्क बुझाउनुपर्नेछ।
आयोजकका अनुसार प्रतियोगिता विभिन्न चरणमा सञ्चालन हुनेछ, जसमा सहभागीहरूको आत्मविश्वास, व्यक्तित्व, प्रतिभा, सिर्जनशीलता तथा मोडलिङ क्षमताको मूल्यांकन गरिनेछ। साथै, प्रतियोगीहरूले फिटनेस, व्यक्तित्व विकास, ग्रुमिङ, व्यावसायिक स्टाइलिङ, मोडलिङ तथा स्टेज प्रस्तुति सम्बन्धी व्यावसायिक प्रशिक्षण पनि प्राप्त गर्नेछन्।
प्रतियोगिताको पहिलो चरणको अडिसन आगामी जुलाई ११ अर्थात् असार २७ गते हुनेछ। त्यसपछि प्रशिक्षण, विभिन्न प्रतिस्पर्धात्मक चरण तथा अन्य कार्यक्रमका विवरण आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिने आयोजकले जनाएको छ।
प्रतियोगिताका विजेताले दक्षिण कोरियामा आयोजना हुने प्रतिष्ठित एसिया मोडल फेस्टिभल मा नेपालको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्। साथै, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ र फेसन उद्योगमा व्यावसायिक रूपमा अघि बढ्ने अवसरसमेत पाउनेछन्।
राष्ट्रिय निर्देशक मेनुका माझीले फेस अफ नेपाल नेपाली युवायुवतीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मोडलिङ क्षेत्रमा आफ्नो क्षमता प्रदर्शन गर्ने महत्त्वपूर्ण मञ्च भएको बताइन्। उनका अनुसार प्रतियोगितामा आत्मविश्वास, व्यक्तित्व र प्रतिभालाई प्राथमिकता दिइने भएकाले सहभागी हुन उचाइको कुनै मापदण्ड राखिएको छैन।
उनले नयाँ पुस्ताका प्रतिभालाई विश्व मञ्चसम्म पुर्याउने उद्देश्यले प्रतियोगिता सञ्चालन हुँदै आएको उल्लेख गर्दै मोडलिङ क्षेत्रमा भविष्य बनाउन चाहने युवायुवतीलाई निर्धक्क भएर आवेदन दिन आग्रह गरिन्।
यस वर्षको ग्रान्ड फिनाले आगामी अगस्ट ३०, २०२६ (भदौ १४) मा काठमाडौंस्थित रोयल टुलिपमा आयोजना हुनेछ। कार्यक्रममा फेसन तथा मनोरञ्जन क्षेत्रका चर्चित व्यक्तित्वहरूको सहभागिता रहने आयोजकले जनाएको छ।
‘फेस अफ नेपाल–२०२६’ दक्षिण कोरियामा आयोजना हुने अन्तर्राष्ट्रिय प्रतिष्ठित एसिया मोडल फेस्टिभल को नेपालको आधिकारिक फ्रेन्चाइजका रूपमा सञ्चालन हुँदै आएको प्रतियोगिता हो। यस वर्ष पनि देशभरबाट प्रतिभाशाली पुरुष तथा महिला मोडलको खोजी गर्दै उनीहरूलाई अन्तर्राष्ट्रिय मञ्चसम्म पुर्याउने लक्ष्य प्रतियोगिताले लिएको छ।








