अवार्ड विजेता ६ चिनियाँ फिल्मको नेपालमा प्रदर्शन सुरु

फिल्म । बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा उत्कृष्ट घोषित भएका ६ चिनियाँ फिल्मको प्रदर्शन कार्यक्रम मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ ।बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको प्रवर्द्धन कार्यक्रम ‘टियानतान अवार्ड प्यानोरामा’ अन्तर्गत सागर झान निर्देशित फिल्म ‘ट्रयाप्ड’को प्रदर्शनसँगै कार्यक्रमको शुभारम्भ गरिएको हो ।

चीन फिल्म प्रशासन, बेइजिङ अन्तर्राष्ट्रिय फिल्म महोत्सव र नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो । ठमेलस्थित छाया सेन्टरमा आयोजित उद्घाटन समारोहमा नेपालका लागि चिनियाँ दूतावासका मिनिस्टर काउन्सिलर चउ पान प्रमुख अतिथिका रूपमा उपस्थित थिए ।

कार्यक्रममा नेपालका लागि ब्राजिलका कार्यवाहक राजदूत सर्जियो काउटो, वरिष्ठ निर्देशक तुलसी घिमिरे, नेपाल कलाकार संघका अध्यक्ष उत्तम केसी, निर्देशक समाजका अध्यक्ष अरुण प्रधान, नेपाल फिल्म संघका अध्यक्ष नरेन्द्र महर्जन, अभिनेता प्रमोद अग्रहरीलगायत फिल्मकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल फिल्म तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष केपी पाठकले स्वागत मन्तव्य व्यक्त गर्दै यस्ता कार्यक्रमले नेपाल र चीनबीचको सांस्कृतिक तथा मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गरे । उनले चीनमा नेपाली फिल्मको प्रदर्शन तथा वितरणका लागि पनि यस्ता कार्यक्रम उपयोगी हुने बताए । मिनिस्टर काउन्सिलर पानले फिल्म मनोरञ्जनको माध्यम मात्र नभई समाज, संस्कृति र राजनीतिक परिवेश बुझ्ने प्रभावकारी माध्यम भएको बताए ।

उनले यस्ता कार्यक्रमले नेपाल र चीनका फिल्मकर्मीबीच व्यावसायिक सहकार्यको अवसर सिर्जना गर्ने विश्वाससमेत व्यक्त गरे । वरिष्ठ निर्देशक तुलसी घिमिरेले चिनियाँ बजारमा नेपाली फिल्मको प्रदर्शन र वितरणका लागि थप सहकार्य आवश्यक रहेको उल्लेख गर्दै यसका लागि सहजीकरण गर्न आग्रह गरे ।

उद्घाटनपछि प्रदर्शन गरिएको पहिलो फिल्म ‘ट्रयाप्ड’का निर्देशक सागर झानसँग दर्शक तथा सञ्चारकर्मीहरूले अन्तरक्रिया गरेका थिए । निर्देशक झानले आफ्नो किशोरावस्थामा देखेका र अनुभव गरेका परिवेशलाई आधार बनाएर फिल्म निर्माण गरेको बताए ।

अन्तरक्रियाका क्रममा एक दर्शकले नेपाली बजारमा ग्रामीण कथावस्तुका फिल्म लोकप्रिय भइरहेका बेला क्राइम थ्रिलर जनरामा फिल्म निर्माण गर्नुको कारणबारे प्रश्न गरेका थिए । जवाफमा निर्देशक झानले नेपाली फिल्मकर्मीसँग आफ्नो राम्रो सम्बन्ध रहेको र नेपाली दर्शकको रुचिबारे आफू केही हदसम्म जानकार रहेको बताए ।

कार्यक्रममा सहभागी एक चिनियाँ दर्शकले आफ्नो मातृभाषाको फिल्म विदेशमा हेर्न पाएकोमा खुसी व्यक्त गरिन् । फिल्म ‘ट्रयाप्ड’ले नेपाली दर्शकबाट पनि सकारात्मक प्रतिक्रिया प्राप्त गरेको आयोजकले जनाएको छ । कार्यक्रमको पहिलो दिन ‘ट्रयाप्ड’का साथै ‘बियोन्ड द स्काइज’ र ‘समर डायरी’ पनि प्रदर्शन गरिएको थियो ।

कमेन्ट गर्नुहोस्