फिल्म । गत वैशाख २५ गतेदेखि प्रदर्शनमा आएको नेपाली फिल्म ‘लालीबजार’ चौथो सातामा पनि उत्साहजनक दर्शक सहभागितासहित प्रदर्शन भइरहेको छ । चौथो सातामा प्रवेश गरेको फिल्मले देशभर १ सय ९२ शो प्राप्त गरेको छ । शनिबार अधिकांश शोमा दर्शकको उल्लेख्य उपस्थिति देखिएको थियो । प्राप्त शोमध्ये ९० प्रतिशतभन्दा बढी अकुपेन्सीसहित प्रदर्शन भइरहेको र अधिकांश शो हाउसफुल रहेको निर्माण पक्षले जनाएको छ ।
चौथो सातामा पनि हलमा दर्शकको उस्तै चाप र उत्साह देखिएपछि अभिनेत्री स्वस्तिमा खड्का, अभिनेता रवीन्द्रसिंह बानियाँ, नवअभिनेता विशाल देवकोटा तथा कार्यकारी निर्माता प्रदीप भट्टराईले विभिन्न हलमा पुगेर दर्शकसँग भेटघाट गरेका थिए । उनीहरूले काठमाडौं उपत्यकाका विभिन्न हलमा पुगेर दर्शकको प्रतिक्रिया समेत लिए ।
अभिनेता बानियाँले दर्शकबाट प्राप्त सुझावले आगामी काममा सहयोग पुग्ने बताए । उनले कलाकार र निर्माण टिमले दर्शकका लागि नै काम गर्ने भएकाले प्रत्यक्ष भेटघाटलाई महत्त्व दिने गरेको उल्लेख गरे । उनले भने, ‘हामीले गर्ने काम दर्शककै लागि हो, सोही कारण म लगायत टिम प्रत्यक्ष भेटेर साक्षात्कार गर्ने गर्छौँ । म आफ्नो फिल्म आएको समयमा प्रतिक्रिया लिन्छु, जसले आगामी काममा मदत पुग्छ । सोही कारण यसपटक पनि नेपालभरका मुख्य सहरमा पुगेर दर्शकसँग भेटघाट गरेको थिएँ, धेरै प्रतिक्रिया सामाजिक सञ्जालमार्फत पनि आउने गरेको छ ।’
उनले आफ्नो फिल्म प्रदर्शनका क्रममा दर्शकको प्रतिक्रिया नियमित रूपमा लिने गरेको र त्यसले भविष्यका परियोजनामा सुधार गर्न मद्दत पुग्ने बताए । यसपटक पनि देशका विभिन्न प्रमुख सहरमा पुगेर दर्शकसँग अन्तरक्रिया गरेको तथा सामाजिक सञ्जालमार्फतसमेत धेरै प्रतिक्रिया प्राप्त भइरहेको उनले जानकारी दिए ।
सुरुआती चरणमा कानुनी झन्झट र विभिन्न विवादका कारण चर्चामा रहेको ‘लालीबजार’ दर्शकको सकारात्मक साथका कारण यस वर्ष २०८३ मा प्रदर्शन भएका फिल्महरूमध्ये सर्वाधिक कमाइ गर्ने फिल्म बनेको छ । फिल्मले हालसम्म झन्डै ८ करोड रुपैयाँ ग्रस कलेक्सन गरिसकेको छ । दर्शकको निरन्तर साथलाई आधार मान्दा आगामी दसैंअघि यसको व्यापारिक सफलता उछिन्न अन्य फिल्मलाई चुनौतीपूर्ण हुने अनुमान गरिएको छ ।
फिल्मले हजुरबुवादेखि नाति पुस्तासम्मका दर्शकलाई हलसम्म तान्न सफल भएको निर्माण पक्षको दाबी छ । यम थापाको लेखन तथा निर्देशनमा बनेको फिल्मले १० करोड रुपैयाँभन्दा बढी व्यापार गर्ने विश्वास प्रदर्शकहरूले व्यक्त गरेका छन् । ‘लालीबजार’को विषयवस्तु, निर्देशन तथा कलाकारहरूको अभिनयको दर्शकले खुलेर प्रशंसा गरिरहेका छन् । फिल्म हेरेर बाहिरिने अधिकांश दर्शकले आमाको संघर्षसँग आफूलाई जोडिएको अनुभूति भएको तथा फिल्मले भावुक बनाएको प्रतिक्रिया दिएका छन् ।
फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी, जानकी कठायत, निश्चल पन्थी, विरवल चौधरी, कुन्टल लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् ।
विशाल थियटरमा काम गरीरहेका कलाकार हुन् भने प्रसंशा जेनजी अभिनायताका रुपमा चर्चित छिन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।










