फिल्म । अभिनेता सलिनमान बनिया नयाँ फिल्म ‘युनिभर्सिटी अफ गुण्डाज’ (यूओजी) मार्फत पर्दामा फर्किने तयारीमा छन् । फिल्ममा उनको जोडी को हुने भन्ने चासोबीच निर्माण पक्षले जापानी नायिका मीना यसोदालाई अनुबन्ध गरेको जानकारी दिएको छ ।
सान्भी इन्टरटेनमेन्टको प्रस्तुतिमा निर्माण भइरहेको यस फिल्ममा सलिनमान र मीनाको रोमान्स देख्न पाइनेछ । नेपाल र जापान दुवैको पारिवारिक पृष्ठभूमि भएकी मीना हाल जापानमै बस्दै आएकी छन् । उनका बुवा नेपाली र आमा जापानी हुन् । निर्माण पक्षले उनको थप विवरण भने सार्वजनिक गरेको छैन ।
केही समयअघि सार्वजनिक गरिएको फिल्मको ‘फर्स्ट लुक’ले फिल्मलाई लिएर दर्शकमाझ उत्सुकता बढाएको थियो । निर्माण टिमका अनुसार यो फिल्म पछिल्लो समय निर्माण भइरहेका नेपाली फिल्मभन्दा फरक शैलीमा तयार भइरहेको छ ।
सलिनमान स्वयंले लेखेको कथामा निर्माण हुन लागेको फिल्मलाई सुरेश न्यौपानेले निर्देशन गरिरहेका छन् । फिल्ममा सलिनमान र मीनासँगै अभिनेता सलोन बस्नेतको पनि मुख्य भूमिका रहनेछ । निर्माण पक्षले हालसम्म अन्य कलाकार तथा प्राविधिकको विस्तृत विवरण सार्वजनिक गरेको छैन । ‘फर्स्ट लुक’प्रति दर्शकबाट प्राप्त प्रतिक्रियापछि प्रदर्शन मिति तय गर्ने तयारी निर्माण टिमको रहेको बताइएको छ ।
फिल्मको प्राविधिक टोलीमा सौरभ लामा (डीओपी), मन्दीप गौतम (स्क्रिनप्ले), रोमन बज्राचार्य (ब्याकग्राउन्ड स्कोर), सम्राट बस्नेत (एक्सन निर्देशन), मनोज श्रेष्ठ (भिएफएक्स), बन्देप्रसाद (सम्पादन तथा ट्रेलर), मुकेश शाह (साउन्ड डिजाइन) र राजेन्द्र मोक्तान (कलरिस्ट) रहेका छन् । फिल्मको निर्माण व्यवस्थापनतर्फ सुवास काफ्ले प्रोडक्सन म्यानेजर तथा केवलमान सिंह बस्नेत सहायक प्रोडक्सन म्यानेजरका रूपमा कार्यरत छन् ।












