फिल्म । सविन श्रेष्ठ र अनु शाहले चलचित्रकर्मीहरूको अन्तिम श्रद्धाञ्जलीका लागि आवश्यक सामग्री (कर्रा) पशुपति विकास क्षेत्र कोषलाई हस्तान्तरण गरेका छन् ।कलाकारद्वयले पशुपति क्षेत्रमै आयोजित कार्यक्रममा कोषका अधिकृत सूर्य भाटलाई उक्त सामग्री हस्तान्तरण गरेका हुन् ।
महिलाहरूलाई स्यानिटरी प्याड वितरण, अपाङ्ग बालबालिकालाई आर्थिक तथा जिन्सी सहयोगलगायत विभिन्न सामाजिक कार्यमा सक्रिय रहँदै आएका सविन श्रेष्ठले आफ्नै खर्चमा चलचित्रकर्मीहरूको अन्तिम यात्रालाई सम्मानजनक र व्यवस्थित बनाउन सहयोग पुग्ने उद्देश्यले सामग्री उपलब्ध गराएको बताएका छन् ।
हस्तान्तरणपछि श्रेष्ठले चलचित्रकर्मीहरूको निधन हुँदा श्रद्धाञ्जली अर्पण गर्न आवश्यक सामग्री खोज्नुपर्ने अवस्था देखेर आफू दुःखी हुने गरेको उल्लेख गरे । सोही अनुभूतिपछि यस कार्यमा अग्रसर भएको उनले बताए । उनका अनुसार उक्त सामग्री चलचित्रकर्मी, पत्रकार तथा आवश्यक परेका अन्य व्यक्तिहरूले पनि प्रयोग गर्न सक्नेछन् ।
अभिनेत्री अनु शाहले जन्म र मृत्यु जीवनको अन्तिम सत्य रहेको उल्लेख गर्दै चलचित्र क्षेत्रमा योगदान दिएका व्यक्तित्वहरूको अन्तिम श्रद्धाञ्जली व्यवस्थापनका लागि हुने यस्तो सामाजिक कार्यमा सहभागी हुन पाउँदा खुशी लागेको बताइन् ।
कोषका अधिकृत सूर्य भाटले कलाकार सविन श्रेष्ठबाट भएको सहयोगले पशुपतिमा अन्तिम संस्कार हुने चलचित्रकर्मीहरूको बिदाइ व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गरे । उनले यस्ता सामाजिक तथा मानवीय कार्यले समाजमा सकारात्मक सन्देश प्रवाह गर्ने बताए ।
सविन श्रेष्ठले सुदीप पन्त र नरेश कुँवरको सहयोगमा उक्त सामग्री तयार पारिएको जानकारी दिए । साथै, पशुपतिमा यसको व्यवस्थापन तथा सहजीकरणका लागि प्रोडक्सन म्यानेजर रामहरी डंगोललाई जिम्मेवारी दिइएको बताइएको छ ।












