विदेश बिक्यो ‘आ बाट आमा २’

फिल्म । नेपाली फिल्म ‘आ बाट आमा २’ को छायांकन सुरु नहुँदै अमेरिका र क्यानडामा प्रदर्शन अधिकार बिक्री भएको छ । निर्देशक चन्द्र पन्तले फिल्मको प्रदर्शन अधिकार ती दुई देशका लागि बिक्री भइसकेको जानकारी दिएका हुन् ।

निर्माण टिमका अनुसार अमेरिकास्थित डोको फिल्म्सले फिल्मको अमेरिका र क्यानडा राइट्स महँगो रकममा खरिद गरेको हो । फिल्मको घोषणा भएलगत्तै विदेशमा माग बढेको निर्माण टिमले जनाएको छ । पहिलो भाग ‘आ बाट आमा’ ले नेपालमा राम्रो व्यापार र चर्चा कमाएका कारण दोस्रो भागप्रति पनि वितरकहरूको चासो बढेको बताइएको छ ।

फिल्ममा पल शाह, विपना थापा, आशा श्रेष्ठ, प्रदीप रावत, गजित बिष्ट र नरेन खड्का लगायत कलाकार अनुबन्ध भइसकेका छन् । अन्य कलाकार तथा अभिनेत्रीको छनोट प्रक्रिया भने जारी रहेको निर्माण पक्षले जनाएको छ । निर्देशक पन्तका अनुसार अन्य देशका वितरकहरूसँग पनि प्रदर्शन अधिकारबारे छलफल भइरहेको छ । उनले भने, ‘अमेरिका र क्यानडाका लागि सोल्ड आउट भइसकेको छ । अन्य देशका लागि पनि कुराकानी भइरहेको छ ।’

निर्देशक पन्तले छायांकन तालिका केही दिनमै टुंगो लाग्ने जानकारी दिए । उनका अनुसार अहिले कलाकार चयन तथा प्राविधिक तयारीको काम भइरहेको छ र फिल्म छिट्टै फ्लोरमा जानेछ । आगामी दसैंको अवसर पारेर असोज ३० गते प्रदर्शनमा ल्याउने तयारी गरिएको फिल्मको कथा तथा पटकथा निर्देशक पन्त स्वयंले लेखेका हुन् । आर आर फिल्म्सले वितरण गर्ने फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलले लिइसकेको छ । आर्या इन्टरटेनमेन्ट प्रालि को ब्यानरमा निर्माण हुने फिल्मका प्रोडक्सन म्यानेजर करणसिंह रसाली रहेका छन् ।

कमेन्ट गर्नुहोस्