फिल्म । नेपाली फिल्म ‘लालिमा’ को पहिलो गीत ‘तिमीलाई माया गर्छु’ सार्वजनिक गरिएको छ । निर्माण पक्षले सार्वजनिक गरेको उक्त गीतमा नायिका रोशनी कार्की र नायक जीवन भट्टराई फिचर्ड छन् ।
गीतको भिडियोमा उषा रजक, शिशिर वाङ्देल र सुष्मा निरौला लगायत कलाकारका दृश्यहरू समावेश गरेर फिल्मको कथावस्तुबारे संकेत दिने प्रयास गरिएको छ । भिडियोमा नायिका रोशनी र नायक जीवन भट्टराईबीचको द्वन्द्व र रोमान्स प्रस्तुत गरिएको छ । रोशनीको चरित्रमा यौन व्यवसायसँग सम्बन्धित पाटो र मानसिक अस्थिरताको अवस्था पनि देखाइएको छ ।
गीतमा गायिका प्रीति कौरको स्वर रहेको छ भने शब्द रोशन मिराज, केएम जोशी र प्रीति कौरका छन् । एरेन्ज, मिक्सिङ, मास्टरिङ र संगीत केएम जोशीले गरेका हुन् ।
रोशन मिराजको लेखन तथा निर्देशनमा बनेको फिल्ममा शिशिर वाङ्देल, जीवन भट्टराई, उषा रजक र सुष्मा निरौला लगायत कलाकारको अभिनय रहेको छ । फेथ आस्थाको प्रस्तुतिमा बनेको फिल्मकी कार्यकारी निर्माता रीना लामा हुन् । फिल्मको वितरण नेसनल सिने ग्रुप नेपालले गर्नेछ ।












