‘लैजा खबर ए हावा’ कभर सङबाट दिप्सुले जिते ५१ हजार

फिल्म । प्रदर्शनरत फिल्म ‘आ बाट आमा’को शीर्ष गीत ‘लैजा खबर ए हावा’को कभर सङ गाएर बर्दियाका दिप्सु परियारले ५१ हजार रुपैयाँ पुरस्कार जितेका छन् । उनलाई निर्देशक चन्द्र पन्त, अभिनेता पल शाह, उषा उप्रेती र सिम्रन पन्तले पुरस्कार प्रदान गरेका हुन् ।

निर्देशक चन्द्र पन्तले बर्दियाको बासगढीका दिप्सु परियारलाई टिमको तर्फबाट ५१ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको जानकारी दिए । उनले भने, ‘हामीले घोषणा गरेअनुसार नै उहाँलाई हाम्रो टिमबाट पुरस्कार स्वरूप ५१ हजार नगद प्रदान गरेका हौँ ।’

एक महिनाअघि ‘आ बाट आमा’ निर्माण टिमले उक्त गीतमा आधारित कभर सङ तथा अभिनय प्रतियोगिता घोषणा गरेको थियो । सहभागीले आफ्नो विधामा तयार पारेको भिडियो माघ १२ गतेभित्र टिकटकमा अपलोड गर्नुपर्ने नियम राखिएको थियो । सोही प्रतियोगिताअनुसार दिप्सुले पुरस्कार हात पारेका हुन् ।

आर्या इन्टरटेन्मेन्टको प्रस्तुतिमा बनेको फिल्म ‘आ बाट आमा’को उक्त गीत यतिबेला सामाजिक सञ्जालमा चर्चामा रहेको छ । निर्देशक पन्तकै कथा तथा पटकथामा बनेको यस फिल्ममा विपना थापा, पल शाह, प्रदीप रावत, उषा उप्रेती, सिम्रन पन्त, साइग्रेस पोखरेल, गजित बिष्ट र बेगम नेपालीलगायत कलाकारको मुख्य भूमिका रहेको छ । माघ १६ गतेदेखि हलमा प्रदर्शन भइरहेको यो फिल्म सुपरहिट भइसकेको निर्माण टिमको दाबी छ ।

फिल्मको संगीत कोशिस क्षेत्री, बाबुल गिरी र थानेश्वर गौतमले दिएका छन् भने गीतको कोरियोग्राफी गम्भीर बिष्ट र दिलिप ओखेडाले गरेका छन् । डीओपी नवराज उप्रेती रहेको यस फिल्मका संवाद अभिमन्यू निरवीले लेखेका छन्, जसमा अमर न्यौपाने र चन्द्र पन्तले सहकार्य गरेका छन् । कृष्णप्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर, ध्रुवप्रसाद न्यौपाने र क्षितिज ढुंगानाको लगानी रहेको फिल्मका कार्यकारी निर्माता करण सिंह रसाली हुन् । आरआर फिल्म्सले वितरण गरेको यस फिल्मको डिजिटल अधिकार ओएसआर डिजिटलसँग रहेको छ ।

कमेन्ट गर्नुहोस्