ओटीटी । ओटीटी प्लेटफर्म नेटफ्लिक्सले भारतमा आफ्नो स्ट्रिमिङ यात्राको १० वर्ष पूरा भएको अवसरमा सन् २०२६ का लागि स्टार पावरले भरिएको कन्टेन्ट लाइनअप सार्वजनिक गरेको छ । यस अवसरमा नेटफ्लिक्सले नयाँ सिरिज, फिल्म तथा दर्शकले मन पराएका लोकप्रिय प्रोजेक्टका नयाँ सिजनसहित २१ वटा ओरिजिनल कन्टेन्ट घोषणा गरेको हो ।
यस लाइनअपमा भारतीय फिल्म तथा डिजिटल स्ट्रिमिङका ठूला नामहरू जोडिएका छन् । यद्यपि, यी प्रोजेक्टहरूको रिलिज मिति भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर, विविध विधा र चर्चित कलाकारका कारण लाइनअपले सार्वजनिक हुनासाथ दर्शकमाझ राम्रो चर्चा पाउन थालेको छ ।
अनिल कपूर, सनी देओल, अक्षय खन्ना, सैफ अली खान र आर. माधवनजस्ता कलाकारले यस वर्षको नेटफ्लिक्स लाइनअपको नेतृत्व गरेका छन् । कन्टेन्टहरू ऐतिहासिक ड्रामा, कानुनी थ्रिलर, रोमान्टिक कथा, कमेडी र राजनीतिक तथा युद्ध ड्रामाजस्ता विभिन्न विधामा फैलिएका छन्।
उच्च दाउपेचमा आधारित कर्पोरेट ड्रामा ‘फ्यामिली बिजनेस’ ले विशेष चर्चा बटुलेको छ । अनिल कपूरले शक्तिशाली उद्योगपति जेह दावरको भूमिका निभाएका छन् । कथा त्यतिबेला मोडिन्छ, जब उनी आफ्नै शिष्य सिद मेहताविरुद्ध उभिन्छन्, जसको भूमिका विजय वर्माले गरेका छन् । पैसा, विरासत र नियन्त्रणका लागि हुने संघर्षमा रिया चक्रवर्ती, नेहा धुपिया र ध्रुव सेहगल पनि देखिनेछन् ।
कानुनी थ्रिलर शैलीको यस सिरिजमा सैफ अली खान प्रहरी अधिकारी पवन मलिकको भूमिकामा देखिनेछन् । बढ्दो खतरा र परिवारमाथि आइपरेको संकटबीच आफ्नो कर्तव्य निभाउन उनी कति टाढासम्म जान सक्छन् भन्ने द्वन्द्व कथाको केन्द्रमा छ । सिरिजमा रसिका दुगल, संजय मिश्रा र पत्रकार सौरभ द्विवेदी पनि छन्। निर्देशन पुल्कितले गरेका हुन् ।
कानुनी ड्रामा ‘इक्का’ मा सनी देओल र अक्षय खन्ना प्रतिद्वन्द्वी वकिलको भूमिकामा आमनेसामने देखिँदैछन् । सनी देओल ‘दामिनी’ पछि फेरि कोर्टरुम भूमिकामा फर्किएका छन् । फिल्ममा दिया मिर्जा र तिल्लोतमा शोमे पनि छन् ।
भुवन बामको लोकप्रिय कमेडी सिरिज ‘ढिन्डोरा’ को दोस्रो सिजन ‘ढिन्डोरा २’ पनि नेटफ्लिक्समा आउँदैछ । समीर र टिटु मामाजस्ता चर्चित पात्र पुनः फर्किनेछन् । यस्तै, ‘फिजिक्स वाला’ का संस्थापक तथा सीईओ अलख पाण्डेको जीवनमा आधारित यो सिरिजमा विनीत कुमार सिंह मुख्य भूमिकामा छन् । शैक्षिक यात्रामा आधारित यस सिरिजलाई द भाइरल फिभर स्टुडियोजले निर्माण गरेको हो ।
भारतको पहिलो लोकतान्त्रिक चुनावमा आधारित ऐतिहासिक सिरिज ‘हम हिन्दुस्तानी’ मा सैफ अली खान प्रभावशाली भूमिकामा देखिनेछन् भने प्रतिक गान्धी परिवर्तनशील राजनीतिसँग जुधिरहेका राजाको भूमिकामा छन् । डेटिङ एपको सीईओ बनेकी युवतीको कथामा आधारित रोमान्टिक ड्रामा सिरिज ‘लभ’ मा ऐश्वर्या लक्ष्मी मुख्य भूमिकामा छिन् । आधुनिक प्रविधिको युगमा प्रेम र सम्बन्धको जटिलतालाई यसले उजागर गर्नेछ ।
माधुरी दीक्षित, तृप्ति डिम्री र धारणा दुर्गा अभिनीत फिल्म ‘मा बेहेन’ रहस्यमय लास वरिपरि घुम्ने डार्क कमेडी हो । यस्तै, परिणीति चोपडाको गम्भीर र भावनात्मक भूमिकामा आधारित फिल्म ‘तलास : अ मदर्स सर्च’ रहस्य र मानसिक द्वन्द्वमा केन्द्रित छ । विक्रान्त मेस्सी र वेदिका पिन्टो अभिनीत फिल्म ‘मुसाफिर क्याफे’ प्रेम, बिछोड र भावनात्मक उपचारको यात्रामा केन्द्रित छ।
नीना गुप्ता र सुमित व्यास अभिनीत कमेडी फिल्म ‘चुम्बक’ एउटै कोलोनीमा बस्ने पाँच जोडीको कथामा आधारित छ। विशाल भारद्वाज, किरण राव, शकुन बत्रा र विक्रमादित्य मोटवाने निर्देशित ‘लस्ट स्टोरिज’ को तेस्रो भागमा अली फजल र कोंकणा सेन शर्मा देखिनेछन् ।
लोकप्रिय कानुनी कमेडी सिरिज ‘मामला लागल है २’ दोस्रो सिजन अझ ठूलो भद्रगोल र हास्यरससहित फर्किएको छ । आर. माधवन अभिनीत राजनीतिक ड्रामा फिल्म ‘लिगेसी’, जहाँ नैतिकता र सत्ताबीचको संघर्ष देखाइनेछ ।
सन् १९९९ को कारगिल युद्धमा आधारित फिल्म ‘अपरेसन सफेद सागर’ ले भारतीय वायुसेनाको वीरतालाई केन्द्रमा राखेको छ। युवामाझ लोकप्रिय सिरिज ‘मिसम्याच्ड’ अन्तिम सिजनसहित फर्किँदैछ ।










