फिल्म । शाहरुख खान अभिनित प्रतिक्षित फिल्म ‘किङ्ग’ को प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माताले शनिबार नयाँ टिजर सार्वजनिक गर्दै फिल्मको रिलिज मिति सार्वजनिक गरेका हुन् । फिल्म ‘किङ्ग’ आगामी डिसेम्बर २४ (पुस ९ गते) क्रिसमसको अवसर पारेर विश्वव्यापी प्रदर्शनमा आउनेछ ।
सार्वजनिक टिजरको सुरुवातमा शाहरुख खान हिउँले ढाकिएको पहाडको चुचुरोमा उभिएर चिच्याइरहेका देखिन्छन् । उनी घाइते अवस्थामा छन् र एउटा भवनको सिसा फुटाउँदै भित्र हाम फालेको दृश्य देखाइएको छ । टिजरमा उनको शरीर र अनुहार रगतले लतपतिएको छ भने आँखामा तीव्र आक्रोश झल्किएको छ । एक दृश्यमा शाहरुख कसैलाई मुक्काले प्रहार गरिरहेका छन् ।
शाहरुखको यो फिल्म रिलिज हुनुभन्दा छ दिनअघि, डिसेम्बर १८ मा हलिउड फिल्म ‘एभेन्जर्स : डूम्सडे’ प्रदर्शनमा आउँदैछ । यससँगै ‘किङ्ग’ ले बक्सअफिसमा सिधै ‘एभेन्जर्स’ सँग प्रतिस्पर्धा गर्नेछ । यस वर्ष ‘बोर्डर २’ जस्ता ठूला फिल्म प्रदर्शन भइसकेका छन् भने आउँदा दिनमा पनि थुप्रै एक्सन तथा मसलेदार फिल्म हलमा आउने तयारीमा छन् ।
फिल्म ‘किङ्ग’ मा शाहरुख खानसँगै उनकी छोरी सुहाना खान, सुनील ग्रोवर, दीपिका पादुकोण, अभिषेक बच्चन, जयदीप अहलावत र राघव जुयालको अभिनय रहनेछ । साथै रानी मुखर्जी, अनिल कपूर र ज्याकी श्राफसमेत फिल्ममा देखिन सक्ने चर्चा भए पनि उनीहरूको औपचारिक पुष्टि भने हुन बाँकी छ ।










