पनौतीबाट ‘झिँगेदाउ २’ को छायांकन सुरु

फिल्म । निर्देशक तथा निर्माता ज्ञानेन्द्र देउजाले काभ्रेको पनौतीबाट फिल्म ‘झिँगेदाउ २’ को छायांकन सुरु गरेका छन् । सोमबार शुभमुहूर्तसँगै करिब साढे तीन करोड रुपैयाँ लगानीमा निर्माण हुने यस फिल्मको छायांकन थालिएको हो ।

फिल्मको मुहूर्त सट मुख्य अभिनेता आर्यन सिग्देललाई राखेर खिचिएको छ । ६० दिनको सेड्युलमा छायांकन हुने फिल्मका लागि पनौतीमा भव्य सेट निर्माण गरिएको छ । पनौतीपछि काठमाडौं, भक्तपुर, साँखु, तनहुँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ र पालुङमा पनि छायांकन हुने बताएइको छ । अर्को वर्षको दशैंमा फिल्म रिलिज गर्ने लक्ष्य राखिएको छ । कथाले पहिलो फिल्म ‘झिँगेदाउ’ सकिएको स्थानबाटै निरन्तरता पाएको छ ।

कपनगढी सिनेमा प्राली र फिल्म क्रिउ नेपालको संयुक्त ब्यानरमा निर्माण हुने फिल्ममा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल बिष्ट, बसुन्धरा भुषाल, चैत्यदेवी सिंह, हिँउवाला गौतम, विजय देउजा, आशा भुषाल, अभय राज बराल, आशिष पुरुषलगायत कलाकारको अभिनय रहनेछ ।

निर्देशक देउजाकै कथामा आधारित फिल्मको पटकथा परिच्छेद सेन, गोविन्द फुयाल र शिशिर चालिसेले लेखेका छन् । रोशन श्रेष्ठको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी, अर्जुन पोखरेलको संगीत र मित्र डी गुरुङको सम्पादन रहेको छ ।

फिल्मका प्रोडक्सन म्यानेजर इशवर घिमिरे, मुख्य सहायक निर्देशक चन्द्र भण्डारी तथा कला निर्देशक पासाङ टि शेर्पा र मानिक पाख्रिन छन् । बिष्णु घिमिरे ‘कल्पित’ ले छायांकन सम्हालिरहेका छन् । फिल्मका निर्मातामा सुलभ प्रतिक देउजा र समीक्षा देउजा रहेका छन् ।

कमेन्ट गर्नुहोस्