फिल्म । गत मङ्सिर १२ गतेदेखि प्रदर्शनरत फिल्म ‘हर्ष’ मार्फत एकता पौडेल नेपाली रजतपटमा निर्देशकका रूपमा डेब्यु गरेकी छिन् । न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गरेको तथा दिवंगत निर्देशक शिव रेग्मीकी भाञ्जी भएको नाताले उनको डेब्युलाई फिल्म क्षेत्रले विशेष चासोका साथ हेरिरहेका थिए।
आफूसँग रहेका आधा दर्जनभन्दा बढी स्क्रिप्टमध्ये उनले ‘हर्ष’लाई डेब्युको रूपमा छनोट गरेकी हुन् । पारिवारिक विषयवस्तुमा केन्द्रित रहेको फिल्मको कथा र पात्रसँग दर्शक जोडिने निर्देशक पौडेलले बताइन । उनी भन्छिन्, ‘मेरो फिल्म पारिवारिक हो, मन छुने कथा भन्न प्रयास गरेकी छु । शिव मामाले जति शतप्रतिशत दिन नसके पनि एउटा संवेदनशील विषय प्रस्तुत गर्ने कोसिस गरेकी छु ।’
न्यूयोर्क फिल्म एकेडेमीमा अध्ययन गर्दा उनले विभिन्न देशका विद्यार्थीको फिल्मप्रतिको दृष्टिकोण नजिकबाट अवलोकन गर्ने अवसर पाइन् । आधारभूत रूपमा भावना अभिव्यक्ति फरक नभए पनि त्यसको शैली समाज र परिस्थितिले फरक बनाउने अनुभव उनले गरिन् । यही कारण ‘हर्ष’मा उनले नेपाली समाज, परिवारको मनोविज्ञान र परिस्थितिलाई मुख्य केन्द्रमा राखेकी छन् ।
पौडेलका अनुसार, नेपाली समाजमा वंश निरन्तरता महत्वपूर्ण मानिन्छ । यही क्रममा अवरोध आउँदा परिवार र समाजले गर्ने प्रतिक्रिया तथा त्यसले सिर्जना गर्ने मनोवैज्ञानिक दबाबलाई ‘हर्ष’ले उठान गरेको छ ।
‘छ-सातवटा स्क्रिप्टमध्येबाट मैले यो छनोट गरेँ, किनभने यसले उठाएको विषयमा सार्वजनिक बहस हुनु आवश्यक छ,’ उनी थप्छिन्, ‘फिल्मले जटिल सिद्धान्तजस्तो होइन, सरल तर प्रभावकारी शैलीमा मनोरञ्जनसहित कुरा भन्छ ।’
महिला निर्देशक र महिला केन्द्रित कथावस्तुको कारण फिल्मले महिलाको दृष्टिकोण प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।










