फिल्म । सुशान्त गौतमको निर्देशनमा बनेको नेपाली फिल्म ‘अभिमन्यु : च्याप्टर–१’ले अन्ततः प्रदर्शन मिति लक गरेको छ । निर्माण पक्षका अनुसार यो फिल्म आगामी मंसिर १८ गतेबाट सिनेमाघरहरूमा रिलिज हुनेछ । पटकपटक प्रदर्शन मिति तय गरे पनि स्थगित हुँदै आएको यो फिल्म जेनजी आन्दोलन, बाढी पहिरो तथा अन्य फिल्मको लाइनअपका कारण पूर्वनिर्धारित मितिहरूमा आउन सकेको थिएन । यसअघि भदौ २७, असोज १३ लगायतका मितिहरूमा सर्ने क्रममा यो चौथो पटक मिति परिवर्तन भएको हो ।
निर्माण युनिटले नयाँ पोस्टर सार्वजनिक गर्दै नयाँ रिलिज डेट घोषणा गरेको छ ।नयाँ पोस्टरमा फिल्मका मुख्य कलाकारहरू कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देललाई क्यारेक्टर पोस्टरमा फिचर गरिएको छ । यी कलाकारहरू नै फिल्मको मुख्य भूमिकामा छन् ।
निर्माता विनोद पौडेलले भने, ‘हामीले अब मंसिर १८ गते प्रदर्शनमा आउने निर्णय गरेका छौँ । सबैको सल्लाह र सुझावअनुसार यो मितिमा ल्याउने भएका हौँ ।’ उनले दर्शक, सञ्चारकर्मी तथा सम्बन्धित पक्षबाट सहयोगको अपेक्षा पनि गरेका छन् ।
फिल्मको क्रिएटिभ निर्देशन मदन थापाले गरेका छन् भने कथा तथा पटकथा मुकेश खनालको रहेको छ । विनोद पौडेल र गुञ्जन गिरी मुख्य निर्माता छन् भने रमेश चौलागाईं र हरि श्रेष्ठ सह–निर्माता ।
कार्यकारी निर्मातामा विशाल लामा, हरि मोक्तान, कृष्ण भट्टराई, नीराजन लुइँटेल र सन्देश श्रेष्ठ छन् । लाइन प्रोड्युसर जीवन शाक्यको जिम्मेवारीमा फिल्म बनेको हो । शरद महतोको डिओपी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन रहेको यो फिल्म सेभेन सिज सिनेमाको प्रस्तुतिमा तयार भएको छ ।









