‘राई : दि जर्नी बिगन्स’ सार्वजनिक

सङ्गीत । अष्ट्रेलियामा साङ्गीतिक यात्रा अघि बढाइरहेका गायक राईले दसैँको अवसरमा नयाँ गीत ‘राई : दि जर्नी बिगन्स’ सार्वजनिक गरेका छन् । सिद्धार्थ राई नाम भए पनि आफूलाई ‘राई’का रूपमा मात्र चिनाउन रुचाउने उनले यो गीतमा आफ्नो जीवनकथा समेटिएको बताएका छन् । ‘राई सधैँ राई, हामी नेपाली दाजुभाइ’ नारासहित उनले आफ्नो साङ्गीतिक ब्रान्डिङ अघि बढाएका छन् ।

नेपाली सङ्गीतलाई विश्वस्तरीय बनाउने लक्ष्य बोकेका राईले यो गीत सात देशमा रेकर्ड गरेका थिए । अमेरिका, युरोप हुँदै अष्ट्रेलियामा रेकर्ड भएको संस्करण चित्तबुझ्दो लागेपछि उनले यही रेकर्ड सार्वजनिक गरेका हुन् । गीत निर्माणमा ५० हजार डलर खर्च भएको राईले बताए ।

‘यो गीत मेरो आफ्नै कथा हो । यसले सङ्घर्ष, आशा र सपनालाई बोल्छ। युवा पुस्ताको रुचिलाई ध्यानमा राखेर बनाइएको यो गीतले सपनाको पछाडि दौडिरहेका लाखौँ युवाको अवस्थालाई शब्द र सङ्गीतमार्फत चित्रण गर्छ’, राईले भने । उनले नेपाली सङ्गीतलाई विश्वमाझ पुर्‍याउन गुणस्तरीय काम गरिरहेको पनि उल्लेख गरे ।

अष्ट्रेलियामै खिचिएको म्युजिक भिडियोमा त्यहाँका सडक र कन्सर्टको माहोल समेटिएको छ । राईले यसअघि दर्जनौँ गीत सार्वजनिक गरिसकेका छन्, जसलाई उनले सधैँ ‘राई’ सँग जोडेर प्रस्तुत गर्छन् । परदेशमा रहेर पनि नेपालसँग जोडिन रुचाउने उनको गीतले यही भावनालाई आत्मसात गरेको छ ।

कमेन्ट गर्नुहोस्