‘माइतीघर’ फिल्म सबैले हेर्न पाउने

फिल्म । असोज १३ गतेबाट रिलिज हुने फिल्म ‘माइतीघर’ले चलचित्र जाँच पास समितिबाट ‘यूनिभर्सल’ सर्टिफिकेट प्राप्त गरेको छ । बुधबार साँझ सेन्सर भएको यो फिल्म अब सबै उमेर समूहका दर्शकले हेर्न पाउनेछन् । दशैंको फूलपातीको अवसरमा रिलिज हुने यो फिल्मले व्यापारिक रूपमा उत्कृष्ट सुरुवात गर्ने अपेक्षा गरिएको छ ।

सेन्सर बोर्डले फिल्मको कथावस्तु, प्रस्तुति र कलाकारहरूको अभिनयको प्रशंसा गरेको छ । बोर्डका अधिकांश कर्मचारीले लामो समयपछि उत्कृष्ट पारिवारिक फिल्म हेर्न पाएको बताएका छन् । फिल्ममा कमेडी, पारिवारिक सम्बन्ध र भावनाको संयोजन रहेको भन्दै सेन्सर बोर्डले प्रशंसा गरेको निर्माण पक्षले जनाएको छ । निर्माता रोहित अधिकारीले दर्शकलाई यो फिल्मले निराश नबनाउने दाबी गरेका छन् ।

फिल्मको अग्रिम बुकिङ सुरु भइसकेको छ र देशभरका हलहरूमा सयभन्दा बढी शोज पाइसकेको छ । केही हलमा अझै शोज थपिने क्रममा छन् । बिहान ५:१५ बजेदेखि बेलुकीसम्मका शोजहरूले दर्शकको उत्साह र अपेक्षा झल्काउँछ । फिल्मको ट्रेलर र शीर्ष गीतले दर्शकको ध्यान खिचिसकेको छ । रामशरण पाठकद्वारा लिखित यो फिल्ममा केदार प्रसाद घिमिरे, धिरज मगर, प्रकाश सपूत, उपासना सिंह ठकुरी, श्यामश्री शेर्पा, युवराज लामा, बुद्धि तामाङ, शिशिर वाङ्देललगायतका कलाकारको अभिनय छ । कथावस्तुले दर्शकको मन जित्ने र बलियो ‘वर्ड अफ माउथ’ प्राप्त गर्ने अपेक्षा निर्माण पक्षको छ।यो फिल्मले दशैंको रौनकमा दर्शकलाई मनोरञ्जन प्रदान गर्ने विश्वास गरिएको छ ।

कमेन्ट गर्नुहोस्