फिल्म । आगामी असोज ३१ गतेदेखि दर्शकमाझ आउने फिल्म ‘जेरी अन टप’मा समावेश पहिलो गीत सार्वजनिक गरिएको छ । घटस्थापनाको अवसरमा सार्वजनिक भएको गीत ‘कस्तूरी’ मा अनमोल केसी र आँचल शर्मा फिचर्ड छन् । मुस्ताङदेखि भारतको राजस्थानका विभिन्न रमणीय दृश्यहरूमा खिचिएको आँचल र अनमोलको जोडी सुन्दर र आकर्षक देखिएको छ ।
उच्च मेकिङ र कलरफूल देखिने भिडियोमा कोरियोग्राफी किरण थापाको छ । उनले अनमोल र आँचललाई रोमान्टिक ‘लभ वर्ल्ड’ को रूपमा चित्रित गरेका छन् । गीतका शब्द र भिडियोमा समावेश दृश्यहरू प्रेमिल छन् । अनमोल र आँचलको केमिस्ट्री आकर्षक देखिन्छ । यो भिडियोले दर्शकहरूबीच रोमान्टिक क्रेज फैलाउने अपेक्षा गरिएको छ ।
आशिष गुवाजु र सदिक्षा कट्टेलको स्वर रहेको गीत संगीतकार जयन जे वाइबाले तयार पारेका हुन् । वाइबाकै शब्द र साउन्ड डिजाइन रहेको गीतमा अशोक थानेतको मिक्सिङ र मास्टरिङ छ । सुयोग गुरुङको निर्देशनमा तयार भएको ‘जेरी अन टप’मा अनमोल र आँचलसँगै अभिनेत्री जसीता गुरुङ, अभिनेता केदार घिमिरे ‘माग्नेबुढा’, अभिनेता भुवन केसी र उषा खड्गी प्रमुख भूमिकामा छन् । अभिनेत्री सुरक्षा पन्तले यो फिल्ममा एक विशेष भूमिका निभाएकी छन् ।
सरोज न्यौपानेको प्रस्तुतिमा तयार यो फिल्मको निर्माणमा न्यौपानेसँग रोविन शेरचन, रामकृष्ण श्रेष्ठ र दीपक भण्डारीले साझेदारी गरेका छन् । फिल्मको कथा हेमराज बिसीको हो । अनुराधा गिरी र इश्वर श्रेष्ठ फिल्मका कार्यकारी निर्माता रहँदा एसोसिएट निर्मातामा नविन घिमिरे, विवेक थापा र भविष्य खड्का छन् । ‘जेरी अन टप’मा कालिप्रसाद बाँस्कोटा, जयन जे वाइबा, जोहन चाम्लिङ राई र व्रिजेश श्रेष्ठको संगीत छ ।
विश्वास तिम्सिनाको पटकथा र दुलिप रेग्मीको छायांकन छ । यो फिल्मलाई रीच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् । फिल्म सगरमाथा आरोहण र यात्राको क्रममा हुने प्रेमकथामा आधारित छ ।











